दमक, २६ मंसिर–यसवर्ष यहाँका इसाई धर्मावलम्बीहरुले पुस २ गते बुधबार दमकमा वृहत कार्यक्रम र जनसहभागितासहित ख्रीष्टमस (वडादिन) मनाउने भएका छन् ।
दमक नगर इसाई समाजले आयोजना गर्ने ख्रीष्टमस समारोहमा येशु ख्रीष्ट बाइबलका प्रवित्र धर्मदर्शनका शुभ सन्देशसहितको प्रवचन, मनोरञ्जनात्मक गीतसंगीत, नृत्य र शुभकामना आदानप्रदान गरिने भएको हो ।
आज (शुक्रबार) दमकस्थित टीटाईम होटलमा स्थानीय पत्रकारहरुसंग भेटघाटको आयोजना गरेर ख्रीष्टमससम्बन्धि कार्यक्रमका बारेमा जानकारी गराएको छ । दमक नगर इसाई समाजका पूर्वाअध्यक्ष तथा सामाजिक उपसमितिका संयोजक पाष्टर आकाश थुलुङ राईका अनुसार इसाई धर्मावलम्बीहरुले प्रत्येक वर्ष ख्रीष्टमस (वडादिन) धुमधामका साथ मनाइर्दै आएको र यसवर्ष पनि ख्रीष्टमसलाई धार्मीक महत्व र समुदायप्रति लक्षित गरिएको छ ।
पुस २ गते, दमकमा नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा ख्रीष्टमस मनाइने कार्यक्रम संयोजक पाष्टर आकाश थुलुङ राईले जानकारी दिए । २९ वर्षअघि दमकमा इसाई धर्मावलम्बीहरुले स्थापना गरेको दमक नगर इसाई समाजले हालसम्म सामाजिक सेवा र सामाजिक रुपान्तरणममा रचनात्मक कार्यहरु सञ्चालन गर्दै आइरहेको पाष्टर थुलुङले बताए । दमकस्थित गंगानगरीमा हुने ख्रीष्टमस कार्यक्रममा नेपाली लोकसंगीत र लोकभाकाका सर्जक वरिष्ठ गायक सिताराम ताजपुरियालाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिने भएको छ ।
त्यसैगरी, सोही समारोहमा मुख्य वक्ताका रुपमा कनान वप्तिस चर्चका सिनियर पाष्टर डाक्टर शमुएल संग्राम राईले बाईबल धर्मशास्त्र र यशु ख्रीष्टका दर्शनका बारेमा महत्वपूर्ण बिचार राख्नुहुने कार्यक्रम छ । त्यस्तै? दमक नगर प्रमुख रामकुमार थापासहित अन्य विशिष्ट पाहुनाहरुको शुभकामना बिचारहरु राखिने कार्यक्रम छ ।
सो समारोहलाई मनोरञ्जन बनाउन स्थानीय चर्चका कलाकारले गीतसंगीत र नृत्य प्रस्तुत गरिने भएको छ । त्यस्तैं, दमकका झण्डै ३६ वटा चर्चहरुबाट दिदीबहिनी र दाजुभाईहरुले आ–आफ्नो जातीय र साँस्कृतिक भेषभूषामा सजिएर आउने कार्यक्रम रहेको पाष्टर थुलु«ले बताए ।
ख्रीष्टमसलाई लक्षित गरेर पुष ४ गते शुक्रबार दमक नगर इसाई समाजले दमक थुलुङ डेन्टल क्लिनिकसंगको सहकार्यमा एक दिने निःशूल्क दन्त शिविर गर्नेभएको छ । दमक ५ नारायण गोपाल टोलमा हुने सो शिविरमा दमक थुलुङ डेन्टलका दन्त विशेषज्ञहरुले दन्त परीक्षण, परामर्श, आधारभूत उपचार, दन्त सफाई र दन्त स्वास्थ्य सेवासम्बन्धि सेवा प्रदान गर्ने भएको छ ।
त्यसैगरी, ख्रीष्टमसको अवसर पारेर पुष २७ गते आइतबार प्रदेशस्तरीय अन्तर इसाई समाजवीच फुटसल प्रतियोगिता आयोजना गरिएको छ । यसअघि, इसाई समाजले दमकमा प्रदेशस्तरीय इसाई समाजवीच फुटसल प्रतियोगिता आयोजना गरिएको थियो ।
१४ वटा इसाई समाज फुटसल टिमको सहभागिता रहने यसवर्षको अन्तर इसाई समाज फुटसल प्रतियोगितामा विजेताले नगद ३५ हजार र उपविजेताले नगद १५ हजार रुपैयाँ राशीसहित प्रमाणपत्र, शिल्ड र मेडल पाउनेछन् ।
ख्रीष्टमसकै अवसर पारेर दमक नगर इसाई समाजले हालै दमकको चारवटा ग्रामिण क्षेत्रका सामदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानोकपडा, खेलकुद सामाग्रीहरु वितरण गरिएको थियो । दमक नगरपालिका शिक्षा तथा खेलकुद शाखाको समन्वयमा नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामाम दमक नगर इसाई समाजले ख्रीष्टमस उपहार बितरण गरिएको हो ।
दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाको अध्यक्षतामा र सचिव पाष्टर अजय पाठकको सहजिकरणमा पत्रकार सम्मेलन भएको थियो । सो पत्रकार सम्मेलनमा दमक नगर इसाइ समाजका संस्थापक अध्यक्ष रेभ एनडी थुलुङ, आदनको बँगैचा व्यवस्थापन समितिका अध्यक्ष पाष्टर मुक्ति किराती, पाष्टर किशोर सुनुवार लगायतको उपस्थिती थियो ।
त्यस्तैं, पत्रकार सम्मेलनमा दमक नगर इसाई समाजका पूर्व अध्यक्ष तथा अन्तर धार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, पाष्टर दावा शेर्पा, दमक नगर इसाई समाजका कोषाध्यक्ष हरि राई, पाष्टर किशोर लिम्बू, युवा संगतीका अध्यक्ष सुरज लिम्बू, एल्ढर डिके धिमाल लगायतका व्यक्तित्वहरुको सहभागीता थियो ।
