काठमाडौं, २८ मंसिर–नेकपा (एमाले) को ११औं महाधिवेशन अन्तर्गत आइतबारदेखि बन्दसत्र सुरू हुँदैछ। बिहान साढे ७ बजेदेखि बन्द सत्र सुरू हुनेछ।

अध्यक्ष मण्डलले बन्द सत्र सञ्चालन गर्नेछ। अध्यक्ष मण्डल बनेलगत्तै मौजुदा केन्द्रीय कमिटी भंग हुनेछ। र, निर्वाचन प्रक्रिया आरम्भ हुनेछ।

एमालेको आगामी केन्द्रीय कमिटी १५ पदाधिकारीसहित २५१ सदस्यीय हुनेछ।  शनिबार बन्द सत्र सकिएलगत्तै दुवै पक्ष टिम बनाउन कसरतमा छन्।

एमालेमा आगामी नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुनेछ।

पदाधिकारीमा दुवैले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्ने देखिएको छ। ओली पक्षबाट पदाधिकारीमा पुरानै अनुहार दोहोरिने सम्भावना छ।

स्रोतका अनुसार उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल नै दोहोरिने सम्भावना बढेको छ।

महासचिव शंकर पोखरेल नै दोहोरिने सम्भावना बढेको छ। तर उपमहासचिव प्रदीप ज्ञवालीले पनि महासचिवमा दाबी छाडेका छैनन्। पृथ्वीसुब्बा गुरूङले पनि निकट नेताहरूसँग कुनै हालतमा महासचिव नछाड्ने बताइरहेका छन्।

तथापि तीन उपमहासचिवमा पृथ्वीसुब्बा गुरूङ, प्रदीप ज्ञवाली, विष्णु रिमाललाई नै दोहोर्‍याउने सम्भावना छ।

सचिवमा मौजुदा कमिटीमा रहेका पद्मा अर्याल, रघुवीर महासेठ, पद्मा अर्याल, लेखराज भट्ट नै दोहोरिने सम्भावना छ।

बाँकी तीन सचिव पदमा भानुभक्त ढकाल, शेरधन राई, ज्वाला साह, सुमन प्याकुरेल, महेश बस्नेत, राजन भट्टराई, खगराज अधिकारी, जगत विश्वकर्मा, यमलाल कँडेल, गोरख बोगटीको बलियो दाबी छ।

अन्तिममा ढकाल, बस्नेत तथा कँडेल र बोगटीमध्ये एक छानिन सक्ने सम्भावना बलियो बन्दै गएको ओलीनिकट नेताहरूले बताएका छन्।

यता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह पनि टिम टुंगो लगाउन छलफलमा जुटेको छ।

ओली समूहमा आकांक्षी बढेका र पदाधिकारीको आकार नबढेकाले असन्तुष्टहरू तान्ने कसरतमा पनि उनीहरू छन्। एक नेताले बताएअनुसार आजभोलि नै ओली पक्षका केही नेता खुल्ने प्रबल सम्भावना छ।

पोखरेल समूहमा अहिलेसम्म योगेश भट्टराईको टुंगो लागेको छ।

उनी उपमहासचिव उठ्ने पक्कापक्की भएको छ। उपाध्यक्ष सुरेन्द्र पाण्डे र गोकर्ण विष्टमध्ये एक जना महासचिव उठ्नेछन्। अर्का उपाध्यक्षमा सेट हुनेछन्।

पोखरेल समूहमा सचिवमा गोकुल बाँस्कोटा, ठाकुर गैरे, कर्ण थापा, विनोद ढकाल, विन्दा पाण्डे लगायत आकांक्षी छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *