काठमाडौँ, २८ मंसिर–सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ।
फाइनलमा सुदूरपश्चिम रोयल्ससँग लुम्बिनीले ६ विकेटको सहज जित निकालेको हो। दोस्रो पटक लगातार फाइनल पुगे पनि सुदूरपश्चिमले उपविजेतामै चित्त बुझाउन बाध्य भयो।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो। जवाफी ब्याटिङमा उत्रेको लुम्बिनीले ८६ रनको लक्ष्य नवौँ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
लुम्बिनीका लागि ओपनर दिनेश अधिकारीले विस्फोटक प्रदर्शन गर्दै १३ बलमा ४२ रन बनाए। अर्का ओपनर डार्सी शटले १४ रन, नटआउट निरोशन डिकवेलाले १२ बलमा ११ रन र कप्तान रोहित पौडेलले १२ बलमा १६ रन बनाए।
सन्दिप जोरा शून्यमा आउट भए भने नटआउट दिलिप नाथले १ रन जोडेको थियो । टोलीले २ अतिरिक्त रन पनि प्राप्त गरेको थियो।
बलिङतर्फ सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए। हेमन्त धामीको नाममा २ र अविनाश बोहराको नाममा १ विकेट रह्यो ।
