काठमाडौँ, २९ मंसिर–नेकपा (एमाले) को ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन समूह असहज बन्दै गएको छ ।

लामो समयदेखि ओलीलाई साथ दिँदै आएका नेताहरू नै पदाधिकारी सूचीप्रति असन्तुष्ट हुँदै स्वतन्त्र वा विपक्षी कित्ताबाट उम्मेदवारी दिन थालेपछि प्रतिस्पर्धा पेचिलो बन्दै गएको हो ।

महासचिवका दाबेदार उपमहासचिव प्रदीप ज्ञवालीलाई ओलीले उक्त पद नदिएपछि विवाद सुरु भयो । ओलीले महासचिवमा शंकर पोखरेललाई दोहोर्‍याउने निर्णय गरेपछि ज्ञवाली असन्तुष्ट बने ।

ज्ञवालीलाई उपाध्यक्षमा समेट्ने प्रयास भए पनि ज्ञवालीले महासचिवबाहेक अन्य पदमा नउठ्ने अडान लिए । अन्ततः उनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिए, जसलाई ओली प्यानलका लागि ठूलो झट्काका रूपमा हेरिएको छ ।

ओली प्यानलबाट अन्य नेताहरू पनि अपेक्षित जिम्मेवारी नपाएपछि अलग्गिन थालेका छन् । उपाध्यक्षको आकांक्षा राखेका रघुजी पन्त स्वतन्त्र उम्मेदवार बनेका छन् । यसै गरी अग्नि खरेल, लालबाबु पण्डित, राजेन्द्र गौतम र भीमप्रसाद आचार्यले पनि पदाधिकारीमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

ओलीका निकट मानिने कृष्णगोपाल श्रेष्ठ र गोकुल बाँस्कोटा भने ईश्वर पोखरेल पक्षमा खुलेका छन् । विगतमा ओलीको कट्टर समर्थन गर्दै आएका श्रेष्ठ अहिले सचिव पदका उम्मेदवार बनेका छन् । बाँस्कोटा पनि पोखरेल प्यानलबाट मैदानमा उत्रिएका छन् ।

प्यानल राजनीतिप्रति असन्तुष्टि जनाउँदै भीम आचार्यले भने, ‘योगदान र क्षमताका आधारमा जिम्मेवारी नदिइएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिन बाध्य भएँ।’ आचार्यले चाकडी र दलाली नगर्ने स्वभावका कारण आफू प्यानलमा नपरेको दाबीसमेत गरे ।

संस्थापन पक्षबाट लगातार विद्रोह भइरहँदा ईश्वर पोखरेल समूह भने उत्साहित देखिएको छ । ओली प्यानलमै बागी उम्मेदवारहरू उभिनुले महाधिवेशनको परिणाम कता मोडिन्छ भन्ने प्रश्न थप चासोको विषय बनेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *