दमक, ३ पुस–झापाको दमकमा राष्ट्रियस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । दमक नमुना व्याडमिन्टन एकेडेमीले गर्ने सो प्रतियोगिता यहि पुस १०, ११ र १२ गते दमकमा सम्पन्न हुँदैछ ।
बिहिबार, दमक नमुना ब्याडमिन्टन एकेडेमीले दमक–७ नमूना बस्तीमा अवस्थित कर्वड हलमाा पत्रकारहरुसंग भेटघाट गरेर प्रतियोगिताका बारेमा जानकारी गराएको छ ।
एकेडेमीका अध्यक्ष प्रकाश राईले दमकमा पहिलोपटक यति ठूलो लगानी र खेलाडीहरुको सहभागिता रहनेगरी प्रतियोगिता हुने बताउनुभयो । अध्यक्ष राईका अनुसार दमक नमुना ब्याडमिन्टन च्याम्पियनसिप २०८२ का लागि आवश्यक सम्पूर्ण तयारी धमाधम भइरहेको छ ।
ब्याडमिन्टन प्रतियोगिताका रेफ्रिसमेत रहनुभएको आर्थिक उपसमितिका संयोजक भवानीविक्रम आङ्दम्बेले प्रतियोगितामा ७ वटा विभिन्न विधा समावेश गरिएकाृ र सबै विधा गरी करिब ४ सय खेलाडी सहभागी हुने बताउनुभयो ।
प्रतियोगिता सफल बनाउन ११ वटा विभिन्न विषयगत उपसमिति गठन गरिएको एकेडेमीका सचिव कविध्वोज राईले जानकारी दिनुभयो । सचिव राईका अनुसार प्रतियोगितामा प्राविधिक पक्षतर्फ राष्ट्रियस्तरका रेफ्रि केदार धिमालसहित भानुभक्त सिटौला, सम्झना गिरी, मेहाङ राई, राजु राई, तेजनारायण चौधरी, शुभलक्ष्मी श्रेष्ठ लगायत ३५ जना अफिसियल रहने छन् ।
अध्यक्ष प्रकाश राईको अध्यक्षतामा र नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख उपस्थितिमा सो पत्रकार भेटघाट कार्यक्रम गरिएको थियो । पत्रकार भेटघाट कार्यक्रममा दमक वडा नम्बर ७ का अध्यक्ष तथा एकेडेमीका संरक्षक भीमबहादुर पौडेल लगायतका ब्याडमिन्टन खेलाडीहरु, ब्याडमिन्टन खेल क्षेत्रका अगुवाहरुको उपस्थिति थियो ।
प्रतियोगितामा १३ वर्ष उमेर समूहका खेलाडीहरू वि।सं। २०६९ सालपछि जन्मिएको हुनुपर्नेछ भने भेट्रान विधामा कम्तीमा ४० वर्ष उमेर पूरा भएको हुनुपर्नेछ । प्रतियोगितामा सहभागी खेलाडीहरूका लागि आयोजकले निःशुल्क खाना व्यवस्था गर्नेछ भने जिल्ला बाहिरका खेलाडीहरूलाई बसोबासको व्यवस्था समेत गरिएको छ । यस्तो सुविधा पूर्वी नेपालमै पहिलोपटक गरिएको अध्यक्ष राईले गर्नुभयो ।
प्रतियोगितामा करिब रु २४ लाख ७४ हजार खर्च हुने अनुमान गरिएको छ । यसमा पुरस्कार राशी, जर्सी, खाना–बसोबास, अम्पायर खर्च, प्रचारप्रसार, ट्रफी, मेडल तथा अन्य व्यवस्थापन खर्च समावेश छन् । आयोजक समितिले प्रतियोगिता सफल बनाउन सम्पूर्ण दमक नगरवासी, खेलप्रेमी, अभिभावक, दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग र सहभागिताका लागि हार्दिक अपिल गरेको छ ।
दमक ब्याडमिन्टन प्रतियोगिताले दमक नगरको गरिमा र प्रतिष्ठालाई थप बढाउने स्थानीय व्यवसायी तथा खेलाडी श्याम कार्कीले बताउनुभयो ।
त्यस्तैं, झापा जिल्ला ब्याडमिन्टन संघकी कोषाध्यक्ष समेत रहनुभएकी महिला खेलाडी दिलु सुब्बा अनुसार नेपालका खेलाडीहरुले अन्तराष्ट्रियस्तरका ब्याडमिन्टन प्रतियोगिताबाट धेरै ठूला पदक ल्याउन सफल भएपनि काठमाण्डौंदेख मोफसलमा यस्ता प्रतियोगिताहरु आयोजना हुन सकिरहेका थिएन ।
सो पत्रकार भेटघाट कार्यक्रममा प्राईम बैंक दमक शाखाका प्रवन्धक भेषराज भुजेलको उपस्थिति थियो भने सुसन राईले सहजिकरण गर्नुभएको थियो ।
