काठमाडौं, ९ पुस–नेकपा (एमाले) का नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले मंगलबार साँझ सूर्यास्तलाई पृष्ठभूमिमा राखेर तस्बिर सेयर गर्दै लेखे– ‘मित्रहरू घाम अस्ताएको हो, जीवन होइन ।’
भट्टराईले लेखेको यो छोटो स्ट्याटसले यतिबेला एमाले कार्यकर्तामा तरंग सिर्जना गरेको छ ।
हालै सम्पन्न एघारौँ महाधिवेशनमा पराजित अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षधर उपमहासचिव भट्टराईको यो स्ट्याटसबारे एमाले कार्यकर्ताहरूले आ–आफ्नो अर्थ लगाएर बहस गरिरहेका छन् ।
महाधिवेशनपछि अध्यक्ष केपी ओलीले आइन्दा पार्टी नेतृत्वको आलोचना नगर्न भने पनि ईश्वर पोखरेल पक्षका नेताहरूले भने ओलीको आलोचना गर्न छाडेका छैनन्।
यस्तो अवस्थामा भट्टराईको स्ट्याटसलाई लिएर कतिपयले यस्ता अभिव्यक्तिले एमालेलाई कमजोर बनाउने भन्दै ख्याल गर्न भनेका छन्। पार्टीलाई मजबुद बनाउनेतिर लाग्नु भन्दा कमजोर बनाउनेतिर लागेको भन्दै उनको आलोचनासमेत भएको छ ।
