दमक, १७ पुस–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको जिल्ला झापामा अवसरको ओइरो लागेको छ ।
एमालेको ११ औं महाधिवेशनबाट झापाबाट अध्यक्ष ओलीसहित २६ जना केन्द्रीय कमिटीमा छन् भने ओलीकै निर्वाचन क्षेत्र झापा ५ बाट आयोग सदस्यसहित १४ जनाको प्रतिनिधित्व छ।
एमालेको समानुपातिक तर्फको बन्दसूचीमा विभिन्न २१ जिल्लाबाट प्रतिनिधित्व शून्य रहदा झापाबाट भने ९ जना परेका छन् । मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, गोरखा, बागलुङ, ताप्लेजुङ, तेह्रथुम, रसुवा, मनाङ, नवलपुर ९नवलपरासी पूर्व०, रूपन्देही, सल्यान, पश्चिम रूकुम, दैलेख, डोल्पा, डोटी, जुम्ला, बाजुरा, बैतडी र डडेल्धुराबाट प्रतिनिधि शून्य छ ।
गत पुस १४ गते निर्वाचन आयोगमा बुझाएको बन्दसूची अनुसार झापाबाट ९ जनाको प्रतिनिधित्व देखिएको छ। यसमा अनिता सुब्बा, विद्यानन्द राजवंशी, नर्मदादेवी सिवाकोटी, मेनुका काफ्ले, लता प्रसाईं, नीता घतानी, जितु दर्जी गौतम, सोम पोर्तेल र बिना साह महतो छन्।
अध्यक्ष ओलीकै प्यानलबाट सचिवमा निर्वाचित हिक्मत कार्की झापा ५ का हुन् । कार्की कोशी प्रदेशका मुख्यमन्त्री हुन् । कार्कीको परिवारका तीन जनाले यसपटक एमाले केन्द्रमा अवसर पाएका छन्। उनका दाजु एवम् संविधानसभा सदस्य दीपक कार्की केन्द्रीय सदस्य बन्दा दीपक पत्नी लीला कट्टेल कार्की अनुशासन आयोग सदस्य बनेकी छन्।
ओलीकै क्षेत्रबाट एकै परिवारका अरू दुई जना केन्द्रीय सदस्य बनेका छन्। कोशी प्रदेश सभा सदस्य समेत रहेका होमबहादुुर थापा र उनका भाइ गोविन्द थापा केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
केन्द्रीय कमिटीमा सोही क्षेत्रबाट पर्ने अन्य नेताहरूमा पूर्वमन्त्री देवेन्द्र दाहाल, ओलीकै नातेदारसमेत दमकका पूर्वमेयर रोमनाथ ओली पनि केन्द्रीय सदस्य निर्वाचित भएका छन्। रोमनाथ र केन्द्रीय सदस्यद्वय होमबहादुर र गोविन्द थापाको परिवारबीच पारिवारिक सम्बन्ध छ। रोमनाथ थापा परिवारका ज्वाइँ हुन्।
लामोसमय केपी शर्मा ओलीको स्वकीय सचिव रहेका दमककै इन्द्रप्रसाद भण्डारी, गीता अधिकारी, निर्मला पाठक शिवाकोटी पनि केन्द्रीय सदस्य निर्वाचित भएका छन्। गीता अधिकारीलाई दमकमा मेयर हारेपछि ओलीले योजना आयोग सदस्य बनाएकी थिइन्।
झापा ५ बाट एमाले केन्द्रमा प्रतिनिधित्व गर्नेहरूमा सुनिता बराल र जलवर्षा राजवंशी पनि छन्।
