विराटनगर, १९ पुस–नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्।

निर्वाचन प्रक्रिया अघि बढिसकेकाले अब कुनै पनि बहानामा चुनाव रोक्ने वा सार्ने विकल्प नरहेको उनको भनाइ छ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले दलहरूले समानुपातिकतर्फको उम्मेदवार सूची बुझाइसकेको र माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता हुन लागेकाले निर्वाचनबाट पछि हट्ने अवस्था नरहेको बताए।

फागुन २१ गते तराई क्षेत्रमा होली तथा हिमाली जिल्लामा सम्भावित हिमपातजस्ता व्यावहारिक कठिनाइ रहेको स्वीकार गर्दै उनले निर्वाचनलाई आवश्यक परे चरणबद्ध रूपमा सञ्चालन गर्न सकिने सुझाव दिए।

‘काठमाडौं उपत्यकाजस्ता सहज क्षेत्रमा पहिलो चरणमा र मौसम प्रतिकूल हुने हिमाली तथा तराईका जिल्लामा दोस्रो वा तेस्रो चरणमा गरेर भए पनि फागुनमै चुनाव हुनुपर्छ,’ उनले भने।

देशलाई लामो समयसम्म संक्रमणकालमा राख्दा संविधान र लोकतन्त्रमाथि नै संकट आउन सक्ने चेतावनी दिँदै भट्टराईले संसदीय प्रणालीलाई जीवित राख्न निर्वाचन नै एकमात्र विकल्प रहेको उल्लेख गरे।

‘संक्रमणकाल लम्बिँदा लोकतन्त्रविरूद्ध षड्यन्त्र हुन सक्छ। त्यसैले समयमै निर्वाचन अपरिहार्य छ,’ उनले भने।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *