ललितपुर, १८ पुस–ललितपुर महानगरपालिका वडा नं ६ को आयोजनामा सातौं मेयर कप अन्तर वडा टेबलटेनिस प्रतियोगिता पुस २० गते आइतबारदेखि शुरु हुने भएको छ।
ललितपुर महानगरपालिका वडा नं ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यले पत्रकार सम्मेलनको आयोजना गरेर सातौं संस्करणको टेबलटेनिस प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका छन्।
अध्यक्ष रुपेन्द्रराज शाक्यले खेलकुद मार्फत युवालाई सक्रिय बनाउने तथा खेलाडीलाई टेबलटेनिस खेल बिकास गराउदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा हासिल गराउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको बताए ।
अध्यक्ष शाक्यले प्रतियोगितामा पालिका भित्रका वडाहरुवाट ३०० जना खेलाडीको सहभागिता रहने जानकारी गराएका छन्। प्रतिस्पर्धामा खुल्ला पुरुष, महिला, उमेर समूह गरी जम्मा १७ विधा समावेश गरिएका छन्।
स्पर्धा मार्फत टेबलटेनिसका नयाँ खेलाडीको प्रतिभा परिक्षण (टयालेन्ट हन्ट) तथा अनुभवी खेलाडीको क्षमता अभिवृद्धि गर्ने अवसर रहेको अध्यक्ष शाक्यले बताएका छन्।
अध्यक्ष शाक्यले विजेता खेलाडीलाई कूल नगद पुरस्कार रु ४ लाख २५ हजार, आकर्षक ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी गराएका छन्।
ललितपुर जिल्ला टेबलटेनिस संघको संयोजनमा सञ्चालन हुने खेलमा अन्तर्राष्ट्रिय स्तरका निर्णायक सहित अन्तर्राष्ट्रिय मापदण्ड लागु गर्दै ३ स्टार बल प्रयोग गरिने जिल्ला संघका अध्यक्ष आशिष अवालेले जानकारी गराएका छन् ।
अन्तर महानगर टेबलटेनिस प्रतियोगिता ललितपुर कनिबहालस्थित वडा नं ६ कार्यालय प्राङ्गणमा २० देखि २६ गतेसम्म जम्मा सात दिन निरन्तर खेल सञ्चालन हुनेछ।
