काठमाडौँ, २१ पुस–नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा अन्तरिम सरकार बनेको दाबी दोहोर्याएका छन् ।
दिल्लीमा आयोजित एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्। उनी उक्त कार्यक्रममा सहभागी हुन आइतबार भारत गएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रपति निवासमा भएको छलफलबारे उल्लेख गरे। ‘२६ गते राति म र कमरेड माधव कुमार नेपाल, हामी दुई जनालाई राष्ट्रपति निवासमा बोलाएपछि हामीले रातभर धेरै मिहेनत गरेर यो संशयको वातावरणलाई निवारण गर्ने र देशलाई बिस्तारै नर्मल सिच्युएसनतिर फर्काउन मिहेनत गर्यौँ,’ उनले भने, ‘अन्ततः अन्तरिम सरकार गठन गर्ने भयो । त्यति बेला पनि कामचलाउ चाहिँ केपी ओली नै थिए, उनकै सिफारिसमा सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउने समझदारी भयो ।’
उनका अनुसार त्यसपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो। सोही सरकारको सिफारिसमा संसद् विघटन भएको प्रचण्डले बताए।
‘तर संसद् विघटन गर्ने सहमति भएको थिएन । आ(आफ्ना सोच थिए,’ प्रचण्डले भने, ‘राष्ट्रपतिले परिस्थितिलाई हेरेर सुशीला कार्कीको सरकारको सिफारिसमा संसद् विघटन गरेर चुनावको मिति घोषणा गर्ने काम भयो ।’

