क्याम्पा बजार (तोपगाछी), ८ मााघ–गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा विस्थापित भएको कमल गाउँपालिका वडा नं २ क्याम्पा बजारमा रहेको प्रहरी चौकी तोपगाछी पुनःस्थापना भएको छ ।
आन्दोलनका क्रममा सुरक्षाकर्मीहरु खेदिएपछि त्यहाँको प्रहरी सेवा स्थगित रहेकोमा बिहिबारदेखि पुनः प्रहरी सो चौकीमा बसेर सेवा दिन सक्ने व्यवस्था मिलाइएकोे हो ।
पुनस्थापित प्रहरी चौकीमा सुरक्षाको जिम्मेवारी लिएर पुगेका प्रहरीलाई त्यहाँका जनप्रतिनिधि र सर्वसाधारणले स्वागत गरेका छन् ।
स्थानीय बासिन्दाले त्यहाँ प्रहरी सेवाको माग गरेपछि वडा कार्यालयको सहकार्यमा आजदेखि प्रहरी सेवा सुचारु भएको कमल २ का वडाध्यक्ष अशोक सुब्बाले जानकारी दिए ।
वडाध्यक्ष सुब्बाको नेतृत्वमा क्याम्पा बजार टोल विकास संस्था र क्याम्पा बजार व्यवस्थापन समितिका पदाधिकारीहरुले सामुहिक रुपमा चौकी परिसर सरसफाई गर्दै त्यहाँ प्रहरी सेवा सञ्चालनको वातावरण बनाएका हुन् ।
सो अवसरमा वडाध्यक्ष सुब्बासहित स्थानीयहरुले प्रहरी कर्मचारीहरुलाई खादा र अबिर लगाएर स्वागत गरेका हुन् । वडा अध्यक्ष सुब्बाले प्रहरी कर्मचारीहरूलाई निरुत्साहित नभई कानुनी परिधीभित्र रहेर सेवा दिन आग्रह गरे ।
प्रहरीलाई वडा कार्यालय र समुदायको पूर्ण सहयोग रहने उनले बताए । उनले भने– वडा कार्यालय सदैव प्रहरीको साथमा रहेको छ र भविष्यमा पनि रहनेछ ।
