बिर्तामोड, १० माघ–झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागी बक्ताहरुले नेपाली कांग्रेसले झापामा महिलालाई अवसर प्रदान गरेको भन्दै प्रसंशा गरेका छन् ।
नेपाली कांग्रेसले झापाको क्षेत्र नं–२ र ५ मा प्रत्यक्षतर्फ महिला उम्मेद्वार उठाएको छ । झापा–२ मा पूर्व केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री सरिता प्रसाई र झापा–५ बाट महासमिति सदस्य मन्धरा चिमरिया पौडेल नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार हुनुहुन्छ ।
झापामा समानुपातिकतर्फ ६ महिलाहरु, सुशिला ढकाल आचार्य, उमा शिवाकोटी, गोमा भटराई, राधा कार्की, रिना उप्रेती र मनु विश्वकर्माले स्थान पाएका छन् भने एकमात्रै पुरुष सत्यनारायण चौधरी उम्मेद्वार छन् ।
पार्टीले महिलालाई प्रत्यक्ष र समानुपातिक दुवैतर्फ अवसर प्रदान गरेकोप्रति गर्व गर्दै कार्यक्रमका सहभागीहरुले महिलाहरुका समस्या सम्बोधनका लागि नीति निर्माण गर्ने थलो प्रतिनिधिसभामा आफूहरुलाई पुर्याउन आम मतदातामा अपिल गरेका छन् ।
नेपाल महिला संघ झापाको आयोजनामा सम्पन्न कार्यक्रमका सहभागी बक्ताहरुले महिलाहरुमा अथाह शक्ति हुने तर प्रदर्शन गर्न नचाहने प्रसङ्ग उठाउँदै पार्टीले दिएको अवसरको भरपुर उपयोग गर्न सबै एकजुट भएर जुट्नुपर्ने बताए ।
कार्यक्रममा समानुपातिक उम्मेद्वार एवं पार्टीका पूर्व केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यले अहिले सामाजिक सञ्जाल प्रचारको प्रमुख माध्यम भएको बताउँदै पार्टीका पक्षमा सत्य तथ्य र विश्वसनीय प्रचार गरी जनमत सिर्जना गर्न युवापुस्तालाई आह्वान गर्नुभयो ।
समानुपातिक पदकै अर्का उम्मेद्वार गोमा भटराईले राजनीतिमा अवसर गौण कुरा भएको बताउँदै निरन्तर संघर्ष, संगठनमा दर्विलो उपस्थितिले आफ्नो पहिचान बनाउन सकिने भन्दै नेता गणेशमान सिंहको उदाहरण प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले पार्टीले महिलालाई दिएको अवसरको भरपुर उपयोग गर्न आह्वान गर्दै एक ब्यक्तिलाई एकपटक मात्रै समानुपातिक सांसद बनाउने पार्टी नीतिले ढिलो–छिटो सबैले अवसर पाउने चर्चा गर्नुभयो ।
समानुपातिक उम्मेद्वार मनु विश्वकर्माले आफूले दलित, महिला र युवापुस्ताको प्रतिनिधित्व गरेको बताउँदै पार्टीले अवसर दिएकोप्रति आभार ब्यक्त गर्नुभयो ।
नेपाल महिला संघ झापाका अध्यक्ष टिका सिटौला मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिता चुडाल सुवेदी, रनमाया रसाईली, सिता चम्लागाई लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
भेलाले नेपाली कांग्रेसबाट उठेका उम्मेद्वारको पक्षमा माहौल सिर्जना गर्न सबै क्षेत्रीय समितिहरुलाई आग्रह गरेको छ । संघका सबै तहका समितिहरुलाई सक्रिय बनाएर आम मतदातालाई मतदानमा सहभागी गराउने कार्यमा महत्वपूर्ण भूमिका खेल्न आह्वान पनि गरेको छ ।
