काठमाडौँ, १० माघ–नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुराना राजनीतिक शक्तिहरू असफल भएकाले नयाँ दल आएपछि सबै समस्या समाधान हुन्छ भन्ने धारणा भ्रामक भएको बताएका छन् ।
शनिबार पार्टीको निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले पछिल्लो समय राजनीतिक बहसलाई नयाँ र पुराना दलको तुलना तर्फ मोड्ने प्रयास भइरहेको उल्लेख गरे। उनले भने, ‘यसले मुलुकका वास्तविक संरचनागत समस्यालाई ओझेलमा पार्ने काम गरिरहेको छ ।’
महासचिव चन्दका अनुसार, सत्तासँग सम्बन्धित आधारभूत प्रश्नहरू छायामा पारेर बाहिर नयाँ-पुराना दलको चर्चा फैलाइएको छ, जुन यथार्थपरक नभएको उनले बताए ।
जनतामा नयाँ दलप्रति देखिएको अपेक्षा केही हदसम्म स्थापित दलहरूको कमजोरीबाट उत्पन्न भए पनि राज्यसत्ताको चरित्र परिवर्तन नगरी केवल नयाँ दल वा नेतृत्व परिवर्तनले मात्र समाधान सम्भव नहुने उनले स्पष्ट पार्यो ।
उनले नेतृत्व उमेरको आधारमा समाधान खोज्न नसकिने पनि बताए । २५/३० वर्ष वा ४०/४५ वर्षका नयाँ अनुहार आएपछि मात्र सबै कुरा सुध्रिन्छ भन्ने सोच यथार्थसँग मेल नखाने उनले भने। पुराना व्यक्ति भएकै कारण राम्रो काम गर्न नसक्ने भन्ने तर्क पनि उनले अस्वीकार गरे ।
महासचिव चन्दले नयाँ र पुराना नेता भन्ने बहसभन्दा नीतिगत र संरचनागत परिवर्तनमा केन्द्रित बहस आवश्यक रहेको औँल्याए।

