बिर्तामोड, १६ माघ–सातौँ संस्करणको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता फरक ढङ्गले भव्य रूपले सम्पन्न गर्ने आयोजकले दाबी गरेको छ।

गोल्डकपका अध्यक्ष केदार गिरीले आज (शुक्रबार) बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै प्रत्येक संस्करण फरक ढंगले हुँदै आएको स्पष्ट पार्दै यसपटक पनि नयाँ ढंगले प्रतियोगिता सम्पन्न हुने जानकारी दिए ।

यही माघ २४ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताका लागि सम्पूर्ण तयारी सम्पन्न भइसकेको छ। सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रूपमा रहेको झापा जिल्लालाई फुटबलको हबको रूपमा विकसित गराउन २०७२ सालबाट यो प्रतियोगिता निरन्तर हुँदै आएको छ।

झापा गोल्डकप पाँचौँ र छैठौँ संस्करणलाई ऐतिहासिक रूपमा सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्व अध्यक्ष बिनोद बस्नेतको स्मृतिमा यो प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा मुख्य प्रायोजक एग्रोथाई फुड्स प्रालीको उत्पादन एक्सट्रिम इनर्जी ड्रिंक्सले गर्ने आयोजकले जनाएको छ।

यो वर्ष झापा गोल्ड कपको पुरस्कार राशि समेत वृद्धि गरिएको छ। विजेताले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यो प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।

उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताका सर्वाधिक गोलकर्ता उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले नगद ३५००० पुरस्कार पाउनेछन् यो वर्ष प्रत्येक खेलको प्लेयरअफ द म्याचले नगद २५ हजार पाउनेछन्।

प्रतियोगितामा नेपालका तीन विभागीय, झापा ११, भारत, भुटान र मलेसियाका एकएक टिम र तीनवटा नेपाल ए डिभिजन क्लब मछिन्द्र एफसी ,लालीगुराँस एसोसिएसन नेपाल पोखरा र चर्च ब्वाइज यूनाइटेडको सहभागिता रहने अध्यक्ष गिरीले बताए ।

यो प्रतियोगिता सञ्चालनको लागि १ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ। झापावासीकै प्रतिष्ठासँग जोडिएको यस प्रतियोगितालाई शानदार ढंगले सफल बनाउन झापाली र झापा बाहिरका विदेशमा रहनुभएका उद्योगी व्यवसायी र खेलप्रेमी महानुभावहरुको महत्वपूर्ण सहयोग रहने आयोजकले जनाएको छ।

प्रतियोगिताको सातौं संस्करणमा झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५००० सहित सम्मान गरिनेछ। यो वर्ष पनि खेल सञ्चालन हुने रङ्गशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई २५ हजार सहयोग प्रदान गरिनेछ।

अजै मुख्य प्रायोजक एग्रोथाई फुड्स र झापा गोल्डकप बीच मुख्य प्रायोजक बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *