झापा, १६ माघ–नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवहाक अध्यक्ष घनश्याम भुसालले अझै पनि मुलुकको संकट टरिनसकेको बताएका छन्।
आज (शुक्रबार) बिर्तामोडमा नेकपा (संयुक्त) झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भुसालले पुराना र नयाँ दलबाट पनि राष्ट्रिय निकास ननिस्किने दावी गरे । नेता भुसालले फागुन २१ गते हुने निर्वाचनपछि पनि मुलुकले सहज निकास नपाउने र देश थप दुर्घटनातर्फ जाने दाबी गरे ।
नेता भुसालले पुराना दल नसचिनु र नयाँ दलसँग मुलुक बनाउने नीति नै नहुनुले मुलुक दुर्घटनातर्फ जाने दाबी गरेका हुन्। चुनावले मुलुकको समस्या समाधान गर्नुपर्ने भए पनि वर्तमान अवस्थामा त्यो सम्भव नदेखिएको नेता भुसालले बताए।
भुसालले पार्टीहरूको कार्यशैलीप्रति कडा आलोचना गरेका थिए । पुराना राजनीतिक दलहरूले नेतृत्व परिवर्तन गर्न नचाहनु र वर्षौंसम्म पनि पुरानै सोचमा पार्टीलाई तानाशाही बनाउँदै लगेको उनको भनाइ थियो। ‘जेनजी’ आन्दोलनले दिएको सन्देशपछि राजनीतिक दलहरू सच्चिने ठूलो अवसर गुमेको नेता भुसालको टिप्पणी थियो।
नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि प्रहार गर्दै नेता भुसालले यसलाई ‘ सिद्धान्तविहिन झुण्डको संज्ञा दिएका छन्। उनले भने, “रास्वपाको न कुनै निश्चित विचार छ, न त कुनै सिद्धान्त नै। यो एउटा ‘ अराजकहरूको झुण्डा जस्तो मात्रै देखिएको छ। निश्चित विचार नदिएसम्म रासपा पार्टीलाई जनताले विश्वास नगर्ने उनले बताएका छन्।
मुलुकले नयाँ विचार नयाँ सिद्धान्त खोजिरहेको अवस्थामा अहिलेका दलहरुबाट त्यो सम्भव नहुने उनको धारणा थियो, मुलुकले अब नयाँ निकास खोजिरहेको उनको भनाइ थियो।
आफ्नो राजनीतिक यात्राको चर्चा गर्दै उनले विगतमा आफू आबद्ध रहेका नेकपा एमाले र एकीकृत समाजवादीमा रहँदा ‘घुस नखाने’ र स्वच्छ छवि भएको पार्टी बनाउन खोजे पनि त्यहाँ सम्भव नभएको स्वीकार गरे।
अब आफ्नो दलले खासै जित हासिल गर्ने नभए तापनि मुलुकमा एउटा नीति स्थापित गरेर जाने उनको दावी थियो। नेकपा (संयुक्त) को नीति भविष्यका पिढीलाई मार्गदर्शक बन्न सक्ने उनको भनाइ छ। यही नीतिलाई स्थापित गर्न अहिले हामी निर्वाचनमा गएका छौँ।
नेता भुसालले भने जनताले हामीलाई पक्कै नजिकबाट हेर्नेछन्। नेकपा (संयुक्त) ले झापाका पाँचवटा क्षेत्रमध्ये क्षेत्र नं २ मा उम्मेदवारी दिएको छ।
पत्रकार सम्मेलनमा कोशी प्रदेश कमिटीका अध्यक्ष महेश रेग्मी, केन्द्रीय सदस्य निलमणि बराल, पुराना बामपंन्थी नेता प्रेमसागर सापकोटा, दुर्गा भट्टराई, साहित्यकार तथा पत्रकार सिरो सान्दाई, क्षेत्र नम्बर २ का उम्मेदवार श्री सिटौला, प्रदेश कमिटी सदस्य मदन खतिवडा, होमबहादुर बराल, मोहन ढकाल, सुशिला तिवारी बराल, हरिप्रसाद नेपाल, लगायतको उपस्थिति रहेको थियो।
