धरमपुर, १७ माघ–सन्थाल समूदायले आज आफ्नो पहिचान झल्कने महान चार्ड ‘सोहराय’ विभिद कार्यक्रमहरुका साथ उल्लासमयले मनाएका छन् ।
झापासहित मोरङ र सुनसरीमा बसोबास गर्ने सन्थालहरुले जीवनदर्शन, प्रकृति, कृषि, श्रम र सामूहिक एकताको प्रतिक झल्काउने उदेश्यले ‘सोहराय’ चार्ड मनाईदैं आइरहेका छन् ।
सन्थालहरुले ‘सोहराय’ चार्डपर्व माघ महिना वा स्वस्थानीको पूर्णिमाको अवसर पारेर मनाउने गर्छन् । खेतीपातीको चक्रअनुसार मिति केही फरक पर्न सक्ने भएपनि पाकेको धान घरमा भित्र्याईसकेर गाई-गोरुको पूजा, सामूहिक भोज र नाचगानसहित सोहराय चार्डपर्व मनाइने प्रचलन छ ।

यसैवीच, आज झापाको शिबसताक्षी–२ धरमपुरको मंगलबारे बजारमा सन्थालहरुले नगर स्तरीय सोहराय चार्ड भब्य कार्यक्रमका साथ मनाएका छन् ।
नेपाल सन्थाल आदिवासी उत्थान संघ शिबसताक्षी नगर इकाई समितिका अध्यक्ष सुन्दरलाल मर्डीको अध्यक्षतामा र शिबसताक्षी नगर प्रमुख रोशन थोप्राको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगर प्रमुख थोप्रोले झापासहित पूर्वी तराईको भूभागमा बसोबास गर्ने सन्थालहरुको भाषा, धर्म र साँस्कृतिक क्षेत्रले सुसम्पन्न भएको बताउनुभयो ।

नगर प्रमुख थोप्रोले नेपाली समाज जातीय हिसावले मात्रै नभएर धार्मीक र साँस्कृतिक पक्षले विभिदता रहेको भन्दै यस्ता चार्डपर्वले समाजमा सांस्कृतिक सहअस्तित्व र बहुलताको सन्देश दिनेमा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथिसिमेत रहनुभएका नगर प्रमुख थोप्रोले सन्थाल जातीको प्रमुख चार्ड तथा पर्वको रुपमा मनाउँदै आइरहेको सोहरायको अवसरमा हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्नुभएको थियो ।
सोही समारोहमा नगर उपप्रमुख नरमाया कार्कीले सन्थाल समुदायले मौलिकता र परम्परागत रुपमा मनाइने यस्ता चार्डपर्वले समग्र समाथ र राष्ट्रको परिचय र पहिचानलाई उच्च बनाउने जिकिर गर्नुभयो ।

त्यस्तै? कार्यक्रममा संविधानसभा सदस्य मोहन टुडुले मौलिक परम्पराको रुपमा रहेको प्रमुख चार्ड सोहराय र सन्थालहरुको साँस्कृतिक उत्सव, एकता र आन्दोलनका बारेमा बोल्नुभएको थियो । संविधान सभा सदस्य माहेन टुडु सन्थाल समुदायको अन्तराष्ट्रिय सन्थाल परिषदका सदस्यसमेत हुनुहुन्छ ।
सो कार्यक्रममा मोरङसहित झापाका विभिन्न पालिका स्तरीय कलाकारहरुको टोलीले आफ्नौ जातीय भेषभूषा, मौलिक गरगहना, हातहतियार, बाजागाजासहित गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम आयोजक संस्था नेपाल सन्थाल आदिवासी उत्थान संघ शिबसताक्षी नगर समितिका सचिव सामसन सोरेनले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ लोक गायक तथा संगीतकार जीतेन राई, शिबसताक्षी–११ का वडाध्यक्ष बहादुर आङ्बो, वडा नम्बर ४ का अध्यक्ष बिष्णु प्रसाई, अधिबक्ता डाक्टर शान्तिदेवी राई, नेपाली काग्रेसका महासमिति सदस्य तथा सामाजिक अगुवा मद्धिन्द्र शेर्मा, नेकपा एमाले नगर अध्यक्ष मेदनी दंगाल, सन्थाल समुदायका अगुवा बाबूलाई मर्डी, नेपाल सन्थाल विकास संघ झापाका अध्यक्ष बडाराम हेमरम, जाहेर थानका बुद्धिलाल सोरेन, नेपाल सन्थाल आदिवासी उत्थान संघ महिला संघ केन्द्रीय अध्यक्ष मन्दिरा किस्कु, मंगलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष राजु दर्नाल, नेपाल आदिवासी जनजाति महासंघ शिबसताक्षी नगर अध्यक्ष धनबहादुर राई, सिर्जन मिडियाका शिबु मुर्मु लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम संयोजक तथा धरमपुरस्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयका शिक्षक लक्ष्मण मर्डीले सोहराय चार्ड कार्यक्रम आयोजना गर्नुको उदेश्य, चार्डको साँस्कृतिक पक्षमाथि प्रकाश पार्नुहुँदैं स्वागत मन्तव्य राख्नुभएको थियो ।

