काठमाडौं, ६ फागुन–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको मुहार फेर्ने अहिलेको अवसरलाई सदुपयोग गर्न सबै पार्टीका कार्यकर्तालाई आग्रह गरेका छन्।
पार्टीले धनगढीमा आयोजना गरेको चुनावी सभालाई बुधबार सम्बोधन गर्दै लामिछानेले भोलि यस्तो अवसर आउन नसक्ने बताए।
अरु पार्टीमा रहेकाहरुको निष्ठालाई आफूले सम्मान गर्ने भन्दै लामिछानेले देशको अस्तित्व जोगाउने र परिवर्तनमा लगानी गर्ने बेलामा विवेक पुर्याउन आग्रह गरे। ‘तपाईंका पार्टीहरु हिजो थिए भोलि रहलान् नरहलान् म भन्न सक्दिनँ। हाम्रै पार्टी भोलि के हुन्छ म भन्न सक्दिनँ। तर आफ्नै हातले इतिहास लेख्ने यो अवसर यो देशले फेरि कहिले पाउँछ पाउँदैन म भन्न सक्दिनँ।’ उनले भने,‘देशका लागि अब एकसाथ हिँड्नुपर्छ भनेर रवि बालेनहरु भोलि आउँछन् आउँदैनन् थाहा छैन, अहिले आएका छन्। यसलाई राष्ट्रिय अवसर र उत्सव बनाउनुपर्छ।’
उनले जनतासँग वाचा गर्ने तर पूरा नगर्ने परिपाटी आफूहरुले अन्त्य गर्ने पनि बताए।
‘जनताले भोट दिने अनि जनताले नै सजाय पाउँने परिपाटी अन्त्य हुनुपर्छ।’ लामिछानेले थपे, ‘ वाचा जसले गरेको हो पूरा नगर्ने हो भने सजाय उसैले पाउने हो जनताले होइन।’
त्यसैले आफूहरुले पाँच वर्षको स्थायी सरकारको अपेक्षा गरेको लामिछानेको भनाइ छ।
गरिवको घरमा डोजर चलाउँछन् भनेर पुरान दलका नेताले फेरि भोट चोर्न सक्ने भन्दै उनले थपे, ‘तिनलाई सोध्नुहोस् ३५ वर्षसम्म हाम्रो सपनामा कसले डोजरल चलायो ? डोजर तिनले चलाएका हुन् हामीले होइन। ’
