काठमाडौं, ७ फागुन–नेपाली कांग्रेसले आफ्नो प्रतिनिधि सभाको निर्वाचन २०८२ को प्रतिज्ञापत्रमा युवा र महिला उद्यमीलाई ५० लाख रुपैयाँसम्म विना धितो ऋण दिने घोषणा गरेको छ।

कांग्रेसका अनुसार, उद्यमशीलता र पूँजी बजारको पहुँच वृद्धिका लागि विशेष कार्यक्रम ल्याउने उद्देश्यका साथ यस योजनालाई अघि सारिएको हो। ‘नवीन सोच भएका युवा र महिला उद्यमीहरूका लागि विना धितो परियोजनाको आधारमा ५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउँछौँ,’ कांग्रेसले प्रतिज्ञापत्रमा उल्लेख गरेको छ।

क्राउड फन्डिङ र भेन्चर क्यापिटल जस्ता वैकल्पिक वित्तीय उपकरणहरूको कानूनी व्यवस्था गरी लगानी सुनिश्चित गर्ने दृषटिकोन पनि कांग्रेसले राखेको छ । साथै, साना र मझौला उद्योग तथा कृषि कर्जामा ब्याजदर स्थिर राख्ने नीति अपनाउने घोषणा पनि गरिएको छ ।

युवा उद्यमीलाई ५ देखि ५० लाखसम्म ‘बिउ पूँजी’ उपलब्ध गराउने, २५ प्रतिशत अनुदान, ५० प्रतिशत सहुलियत ऋण र २५ प्रतिशत स्व–लगानीको मोडल लागू गर्ने योजना पनि कांग्रेसले प्रस्तुत गरेको छ।

बैदेशिक रोजगारीमा गएका युवाहरूसँग पनि सहुलियत ऋणको व्यवस्था गरिएको छ। यस अनुसार, तीन लाख रुपैयाँसम्मको विना धितो सहुलियत ऋण उपलब्ध गराइनेछ ।

दलित युवायुवतीका लागि स्टार्टअप व्यवसाय सुरु गर्नको लागि ५० लाखसम्मको सहुलियत ऋण उपलब्ध गराउने योजना पनि कांग्रेसले प्रस्तुत गरेको छ। ‘स्नातकोत्तर तह अध्ययन पूरा गरेका दलित युवायुवतीलाई स्टार्टअप व्यवसाय सुरु गर्नको लागि परियोजना धितोमा ५० लाखसम्मको सहुलियत ऋण उपलब्ध गराउँछौँ,’ कांग्रेसले प्रतिज्ञापत्रमा उल्लेख गरेको छ ।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *