काठमाडौँ, ९ फागुन–नेपाल र भारतका सुरक्षा अधिकारीहरूको संयुक्त सीमा समन्वय समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि भारतसँगको सीमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ ।

वीरगन्जस्थित एकीकृत सुरक्षा जाँचचौकीमा शनिबार सम्पन्न बैठकमा निर्वाचन अवधिमा हुन सक्ने क्रस–बोर्डर अपराध नियन्त्रणका लागि सतर्कता बढाउने सहमति भएको हो । सीमामा मदिराको खरिद–बिक्री तथा सेवन, नक्कली नोटको कारोबार र अन्य अवाञ्छित गतिविधिमाथि निगरानी कडा पार्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा भारतीय पक्षले पहिलो पटक वीरगन्ज हुँदै भारतको रक्सौल प्रवेश गर्ने सिर्सिया नदीमा देखिएको जलप्रदूषणप्रति चिन्ता व्यक्त गरेको थियो।

नेपालबाट भारततर्फ जाने पानी वाटर ट्रिटमेन्ट प्लान्टमार्फत प्रशोधन गरेर मात्र पठाउन आग्रह गरिएको जनाइएको छ । साथै, नेपाल–भारत सीमामा देखिएको अतिक्रमण हटाउन सहयोगको माग पनि भारतीय पक्षले गरेको छ।

बैठकमा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, भारत पूर्वी चम्पारण जिल्लाका डिस्टिक्ट मेजिस्ट्रेट सौरभ जोरवाल तथा पश्चिम चम्पारण जिल्लाका मेजिस्ट्रेट धर्मेन्द्र कुमारसहित दुवै देशका सुरक्षा अधिकारीहरू सहभागी थिए।

नेपालतर्फ नेपाली सेनाबाहेक अन्य सबै सुरक्षा निकायका प्रतिनिधिहरू बैठकमा उपस्थित रहेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *