काठमाडौँ, ९ फागुन–नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राजनीतिक दलहरूले चुनावी घोषणापत्रका नाममा जनतालाई भ्रममा पार्ने काम दोहोर्याएको आरोप लगाएका छन्।
आज (शनिबार) बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले सत्ता प्राप्तिको उद्देश्यले अवास्तविक वाचा गर्ने प्रवृत्ति दोहोरिँदै आएको बताए।
भुसालले अघिल्ला चुनावमा रेल, भ्यूटावर र पानीजहाजजस्ता योजनाको चर्चा गरेर जनतालाई आश्वासन दिइएको उल्लेख गर्दै यस पटक पाँच वर्षभित्र १७/१८ प्रतिशत आर्थिक वृद्धि गर्ने प्रतिबद्धता पनि त्यस्तै रहेको टिप्पणी गरे। अघिल्लो वाचाबारे प्रश्न नउठेकै कारण फेरि उस्तै प्रवृत्ति दोहोरिएको उनको भनाइ थियो।
उनले नयाँ प्रतिबद्धता अघि सार्नुभन्दा विगत ४० वर्षको विकास मोडेलबारे पुनर्विचार आवश्यक रहेको बताए ।
आसन्न निर्वाचन जनताको चाहनाभन्दा संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाअन्तर्गत असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको दाबी गर्दै उनले राजनीतिक दलहरूको कमजोरीमाथि राष्ट्रिय बहस आवश्यक भएको उल्लेख गरे ।
उनका अनुसार समस्या समाधानका लागि आत्मसमिक्षा गर्नुपर्ने भए पनि त्यसो नगरी निर्वाचनमार्फत विषय ओझेलमा पार्ने प्रयास भइरहेको छ ।
