दमक, १७ फागुन–झापा–५ मा नेपाली कांग्रेसको तर्फबाट आसन्न प्रतिनिधि सभा सदस्यकी उम्मेदवार मन्धरा चिमरिया पौडेलको पक्षमा चुनावी माहोल तातेको छ ।

राष्टिय राजनीतिमा चर्चा गरिएका एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वापाका बरिष्ठ नेता बालेन्द्र साह समेत चुनावी मैदानमा उत्रिएर निकै चर्चा बनेको यस क्षेत्रमा कांग्रेस प्रति जनलहर बन्दै गएको छ ।

दुवै दलका उम्मेदवारप्रति नागरिकहरुमा बढदो आशंका र वितृष्णा रहेको बुझेको कांग्रेसले स्थानीय उम्मेदवारका रुपमा नेतृ चिमरियालाई अघि सारेका कारण यहाँका बासिन्दाहरु उत्साहित देखिएका हुन् ।

वडास्तरका चुनाव प्रचार प्रसार गतिबिधिहरुमा कांग्रेस र शुभचिन्तकहरुको सक्रियताले मतदाताहरु उत्साहित बन्दै आइतवार नेविसंघ र तरुण दलको संयुक्त आयोजनामा निकालिएको नगरस्तरीय चुनाव प्रचार मोटरसाईकल र्र्‍यालीमा सहभागी भएका छन् ।

दमक-९ अमरसिंह चौकस्थित रणभुमी फुटसल मैदान नजिकैबाट शुरु भएको बृहत चुनाव प्रचार रयालीमा सयौंले सहभागिता जनाएका छन् ।

नेविसंघ नेता सुनिल राईले रयालीमा झण्डै एक हजार जना सहभागी भएर कांग्रेसको पक्षमा चुनावी माहोल बढाएका दाबी गरे । उनले भने– ‘कांग्रेस उम्मेदवारसहितको अहिले सम्मकै यो क्षेत्रमा सबैभन्दा ठुलो जनसहभागितामा रयाली निकालिएको छ । यसले कांग्रेसको पक्षमा माहोल बढाएको र जितको बाटो खोलेको महसुस हामीले गरेका छौं ।’

रयालीले दमकको अमरसिंह चोक, किराँत चोक, पशुहाट , हनुमान मन्दिर, फाल्गुनन्द चौंक, भाङबारी, बेलडाँगी, बाघखोर ,ढुकुरपानी, डाकिनी, गुम्बाचौंक हुँदै बजार क्षेत्र प्रवेश गरि दमक चौंकमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा उम्मेदवार चिमरियाले देशलाई समृद्धि र विकासमा लैजान कांग्रेसलाई जिताउन आग्रह गरिन् । कांग्रेसले औपचारिक चुनाव प्रचार प्रसारको अन्तिम दिन दमकको ५ र ६ नम्बर वडा केन्द्रित र कमल गाउँपालिकामा मोटरसाईकल रयालीसहित शक्ति प्रदर्शन गर्ने जनाइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *