काठमाडौँ, २३ फागुन—कुनै समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘नजिक’ भनेर चिनिएका राजुनाथ पाण्डे उनै शाहको नेतृत्व नयाँ रास्वपाको सांसद हुने भएका छन् ।
काठमाडौ(३ बाट १८ हजार ७ सय ५७ मतले विजयी भएसँगै पाण्डेको यात्रा अब संसदतिर सोझिएको हो । पाण्डेका प्रतिस्पर्धी ज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १ सय ७१ मत ल्याएका छन् ।
पाण्डे काठमाडौं महानगरपालिकाका निवर्तमान प्रहरी प्रमुख समेत हुन् । महानगर प्रहरी प्रमुखबाट राजीनामा दिएर निर्वाचनमा होमिएका थिए । पाण्डे रास्वपामा वरिष्ठ नेता बालेन शाह निकट भनेर चिनिन्छन् ।
शाहले काठमाडौं महानगर छोडेर झापा(५ बाट निर्वाचन लड्ने भन्दै राजीनामा दिएपछि पाण्डेले पनि २ माघमा नगर प्रहरी प्रमुखबाट राजीनामा दिएका थिए ।
२०७९ भदौमा शाहले पाण्डेलाई नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएका थिए । तत्कालीन प्रहरी प्रमुख धनपति सापकोटालाई हटाएर बालेनले पाण्डेलाई ल्याएका थिए ।
पाण्डेलाई ल्याउनुको मुख्य कारण उनको ‘कडा स्वभाव’ र ‘एक्सन ओरिएन्टेड’ कार्यशैली भएको भनिन्थ्यो । त्यतिबेला बालेनले महानगरभित्रका अवैध संरचना भत्काउने, फुटपाथ खाली गराउने र नक्सा पासविपरितका बेसमेन्टहरू हटाउने अभियान सुरु गरेका थिए । यो चुनौतीपूर्ण र विवादास्पद काम फत्ते गर्न बालेनलाई एक निडर सारथीको आवश्यकता थियो, जुन पाण्डेले पूरा गर्न सहयोग गरेका थिए ।
