रुकुम पूर्व, २२ फागुनः– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल ९प्रचण्ड०ले आफूले नयाँ र पुराना दलहरूको संरक्षक भएर काम गर्ने बताएका छन्।

आज प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदाता धन्यवाद र्‍यालीलाई रुकुमकोटमा सम्बोधन गर्दै उनले सबै मिलेर देशलाई अगाडि बढाउनुपर्नेमा जोड दिए।

एमाले र कांग्रेसलाई आफूले दुई तिहाइको अहङ्कार नगर्नू है, गल्ती हुन्छ भनेर बारम्बार संसद्मा बोलिरहेकै स्मरण गर्दै संयोजक प्रचण्डले भ्रष्टाचारविरुद्ध लड्दै गर्दा र विकास–समृद्धिका लागि लड्दै गर्दा सङ्ख्याको अहङ्कारले आफूलाई बाहिर पठाएको बताएका छन्।

उनले भने, “त्यही बेला मैले चुनौतीका साथ भनेको थिएँ, सङ्ख्याले केही नापिँदैन। बङ्गलादेशमा एउटै पार्टीको दुई तिहाइ हुँदा पनि के हालत भयो देखिएकै छ।” उनले धेरै सिट ल्याएका दलहरूलाई अहङ्कारबाट बच्न आग्रह गरे।

‘इतिहासका आधारमा म सबैका लागि गुरु हुन सक्छु,’ संयोजक दाहालले भने, ‘तपाईंहरूको जस्तै लहर मैले २०६४ मै देखिसकेको छु, त्यसैले अनुभवका आधारमा सबैसँग मिलेर काम गर्न तयार छु ।’ त्यसैले नयाँ दलहरूलाई पनि आफूले राम्रोसँग नेतृत्व दिनुपर्दछ भन्ने महसुस गरेको भनाइ उनको थियो । रुकुम पूर्वले भारी मतले जिताएर ठूलो जिम्मेवारी दिएको भन्दै संयोजक दाहालले देशकै ठूलो जिम्मेवारी काँधमा आएको महसुस भएको बताए।

पूर्वप्रधानमन्त्रीहरूमध्ये अहिले आफू मात्रै विजयी हुने विचित्रको स्थिति आएको उल्लेख गर्दै उनले इतिहासलाई बोकेर हिँड्नुपर्ने बताए। जनयुद्ध र जनआन्दोलनको इतिहास, शान्ति प्रक्रिया टुङ्ग्याएर देशमा स्थायित्व ल्याउने जिम्मेवारी पनि आफ्नो काँधमा आएको उनको भनाइ थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *