झापा, २४ फागुन–धरानका पूर्व नगर प्रमुख हर्क साम्पाङ राईको अभियानसँग जोडिएको श्रम संस्कृति पार्टीले ऐतिहासिक खाता खोलेको छ ।
देशैभरि रास्वपाको दबदवा बढिरहेको अवस्थामा खोटाङमा भने श्रम संस्कृतिका उम्मेदवार आरेन राई भारी मतान्तरले विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार राईले १६ हजार ६१२ मत प्राप्त गर्दै जित सुनिश्चित गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरे । त्यस्तै, नेपाली कांग्रेसका वीरकाजी राई ११ हजार ९५७ मतका साथ तेस्रो स्थानमा रहे ।
निर्वाचनमा चौथो स्थानमा रहेका नेकपाका उम्मेदवार हरि रोक्काले ९ हजार ४४३ मत ल्याए । यता देशभर चर्चामा रहेको ‘घण्टी’ चिन्हका उम्मेदवार भने खोटाङमा निकै पछाडि परेका छन् ।
रास्वपाका उम्मेदवार रुद्र गिरी ५ हजार ७०४ मत मात्र प्राप्त गर्दै पाँचौं स्थानमा सीमित हुन पुगे । साम्पाङको श्रम अभियान र कार्यशैलीबाट प्रभावित भएर मतदाताले नयाँ विकल्प रोजेको स्थानीयको विश्लेषण छ ।

