काठमाडौँ, ४ चैत–प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै धन्यवाद दिएकी छन् ।
नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरू प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका थिए । उनीहरूबीच हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईँहरूले निर्वाचनमा भाग लिइदिनुभयो। यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो। यसका निम्ति धेरै धन्यवाद छ।’
उनले निर्वाचनमा विजयी नेताहरूलाई बधाई दिँदै अन्यलाई आगामी अवसरका लागि शुभकामना व्यक्त गरिन् ।
नेकपाका नेताहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिएका छन् । संयोजक ‘प्रचण्ड’ले भने, ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठुलो दुर्घटनामा जान्थ्यो। यसमा जुन साहस र मेहनतका साथ तपाईँले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसा लायक छ।’
उनले सुरुदेखि नै आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको स्मरण गरे । ‘हामीले सुरुबाटै निर्वाचनको विकल्प छैन भनेर उभिएका हौँ। इफ बट केही नभनी निर्वाचन हुनुपर्छ भन्ने त्यतिबेला हामी मात्रै थियौँ,’ उनले भने।
पूर्वप्रधानमन्त्री नेपालले भने, ‘प्रधानमन्त्रीमा सुशीला कार्की आउने भन्ने सुनेको दिन निकै राहतको महसुस भएको थियो। तर पछि तपाईँले नआउने भन्नुभयो भन्ने समाचार पनि आयो। त्यस कुराले हामी सबै आत्तिएका थियौँ। तपाईँ आइदिएपछि संविधान बाँच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने विश्वास थियो।’
अस्तव्यस्त अवस्था सम्हाल्दै छोटो समयमै निर्वाचन गराउन सफल भएकोमा प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढता निर्णायक रहेको नेताहरूको भनाइ थियो ।

