बालेन शाह

काठमाडौँ, १३ चैत–मुलुकले आज (शुक्रबार) नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।

शपथअघि शाहलाई प्रधानमन्त्रीमा औपचारिक रूपमा नियुक्त गरिएको जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल बहुमतको सरकार गठन हुन लागेको हो।

राष्ट्रपति कार्यालयका अनुसार अपराह्न शपथ ग्रहण समारोह आयोजना हुनेछ। उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोग, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिएको छ। प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरिएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जितेको थियो। सोही दलले बिहीबार बालेन्द्र शाहलाई संसदीय दलको नेतामा चयन गरेको हो।

प्रतिनिधिसभा निर्वाचनमा शाह झापा क्षेत्र नम्बर ५ बाट ६८ हजार ३४८ मतसहित निर्वाचित भएका थिए। यसअघि बिहीबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *