क्याम्पा बजार (कमल), १४ चैत–कमल गाउँपालिकामा खानेपानी तथा सरसफाइ व्यवहार परिवर्तन सम्बन्धी तालिम प्रशिक्षण/प्रशिक्षक (TOT) तालिम सम्पन्न भएको छ ।
समुदायलाई खानेपानी तथा सरसफाइसँग सम्बन्धित व्यवहार परिवर्तनलाई प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यले तालिम सन्चालन गरिएको हो ।
समुदायमा सुरक्षित खानेपानीको प्रयोग, व्यक्तिगत तथा वातावरणीय सरसफाइ, खुला दिसामुक्त व्यवहारको दिगोपना तथा स्वास्थ्य प्रवर्द्धनलाई व्यवहारमै लागू गराउने लक्ष्यका साथ आयोजना गरिएको यस तालिमले सहभागीहरूलाई सक्षम प्रशिक्षकका रूपमा विकास गर्ने महत्वपूर्ण भूमिका खेलेको छ।
तालिम अवधिभर सहभागीहरूलाई सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक अभ्यास, समूहगत छलफल, प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक सिकाइ विधिमार्फत प्रशिक्षण प्रदान गरिएको थियो।
तालिममा सहजकर्ता गजेन्द्र राईले सहजीकरण गर्नुभएको तालिममा व्यवहार परिवर्तन सञ्चार, समुदाय परिचालन, स्वच्छता प्रवर्द्धनका व्यावहारिक उपायहरू तथा स्थानीय सन्दर्भअनुसार प्रभावकारी प्रशिक्षण दिने विधिहरूबारे विस्तृत रूपमा जानकारी गराउनुभएको थियो। सहभागीहरूले तालिम अवधिभर सक्रिय रूपमा सहभागिता जनाउँदै सिकाइलाई व्यवहारमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हुकुमसिह राईले स्वच्छता र सरसफाइ केवल पूर्वाधार निर्माणमा सीमित नरही व्यवहार परिवर्तनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गर्नुभयो। उहाँले यस्ता तालिमहरूले समुदायमा दीगो परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै प्रशिक्षित जनशक्तिले अब गाउँगाउँमा पुगेर जनचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै स्थानीय तहले स्वच्छ, स्वस्थ र सभ्य समाज निर्माणका लागि निरन्तर यस्ता क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा स्वास्थ्य, शिक्षा, खानेपाने शाखाका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा अन्य सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। तालिम समापनसँगै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो, जसले उनीहरूको सीप र दक्षतालाई औपचारिक मान्यता प्रदान गरेको छ।
उक्त तालिमले कमल गाउँपालिकामा स्वच्छता प्रवर्द्धन, सुरक्षित खानेपानीको पहुँच विस्तार, स्वास्थ्यकर व्यवहारको विकास तथा समुदायस्तरमा दीगो सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको स्वास्थ्य शाखा प्रमुख दिपकप्रसाद दहालले जानकारी दिनु भएको छ।
