इलाम, १८ चैत–दक्षिणी इलामको माङसेबुङ गाउँपालिकामा एकैदिन तीन वटा स्वास्थ्य संस्थाको नवनिर्मित भवन उद्घाटन भएको छ ।

मङ्गलबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा माङसेबुङ गाउँपालिका–३ स्थित चतुरेमा नवनिर्मित चतुरे आधारभूत स्वास्थ्य केन्द्र, सोही वडाको मनिपुरमा निर्मित आत्मानन्द आधारभूत स्वास्थ्य केन्द्र र माङसेबुङ–५ मा निर्मित लारुम्बा सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन भएको हो ।

गाउँपालिका अध्यक्ष हेमन्त राईले तीनवटै स्वास्थ्य संस्थाको भवन उद्घाटन गरेका हुन् । कार्यक्रममा अध्यक्ष राईसहित उपाध्यक्ष विनोदकुमार नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत दिलसेर राई, ३ नं वडा अध्यक्ष लक्षुमन राई जनम, स्वास्थ्य शाखा प्रमुख प्रदिपकुमार राई, इन्जिनियर युवराज दाहाललगायत वडाबासी सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

चतुरेमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को ३० लाख र उपभोक्ताको तीन लाख ३३ हजार ३०२ रुपैयाँको लागत साझेदारी गरी ३३ लाख ३३ हजार ३०२ रुपैयाँको लागतमा चतुरे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भएको हो । नवनिर्मित भवन एकतले पक्की संरचनाको रहेको छ, जसमा ४ वटा कोठा रहेका छन् ।

त्यस्तै सोही वडाको मनिपुरमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१(०८२ को ४८ लाख ९४ हजार २६७ को लागतमा आत्मानन्द आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भएको हो ।

एक तले पक्की संरचनाको भवनमा पाँच वटा कोठा रहेका छन् । ४९ लाख ९२ लाख ५७७ को लागत स्टिमेट तयार सो भवन ठेक्का मार्फत ४८ लाख ९४ हजार २६७ मा निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले जानकारी दिए । सो भवन निर्माणका लागि प्रदेश सरकारबाट ५० लाख अनुदान प्राप्त भएको थियो ।

त्यसैगरी माङसेबुङ–५ मा नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को ३१ लाख १४ हजार ५७१ रुपैयाँको लागतमा लारुम्बा सामुदायिक स्वास्थ्य इकाईको भवन निर्माण भएको हो । एक तले चार कोठे पक्की भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले जानकारी दिए ।

सो भवन निर्माणका लागि नेपाल सरकारबाट ३९ लाख प्राप्त भएको थियो । गाउँपालिकाले ३७ लाख ८७ हजार २४८ लागत अनुमान गरेको थियो । ठेक्कामा ३१ लाख १४ हजार ५७१ को लागतमा निर्माण भएको प्रप्रअ राईले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *