काठमाडौँ, १८ चैत–नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता चयन प्रक्रियालाई पार्टीभित्रको एउटा स्वाभाविक लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने बताए।
निर्वाचनको नतिजा सार्वजनिक भएपछि आफ्नो धारणा राख्दै उनले यस प्रक्रियालाई नकारात्मक ढंगले नहेर्न आग्रह गरे। सांसद नेम्वाङले संसदभित्र सत्तापक्ष वा प्रतिपक्षको साँघुरो घेराभन्दा माथि उठेर जनता र देशको हितमा काम गर्नुपर्नेमा जोड दिए।
उनले सरकारका राम्रा कामलाई सहयोग गर्ने र कमजोरीहरूलाई रचनात्मक आलोचना र सुझावका साथ खबरदारी गर्ने आफ्नो नीति रहने स्पष्ट पारे।
उनले युवा पुस्ता र पार्टीका शुभचिन्तकहरूलाई हतोत्साहित नहुन आग्रह गर्दै यो आफ्नो पहिलो पाइला मात्र भएको र देश तथा जनताको हितमा निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गरे।
