काठमाडौं, २२ चैत–प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।
अर्याल आइतबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए । अन्य उम्मेदवारी नपरेपछि सभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनको निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
गएको फागुन २१ गते सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–९ बाट विजयी भएका अर्याल यसअघि समानुपातिकतर्फबाट सांसद बनेका थिए । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।
सभामुख बन्नुअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति थिए । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका बेला उनले पार्टी नेतृत्व सम्हालेका थिए ।
सभामुखको शपथ भएसँगै अब उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ। नियमअनुसार उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुनेछ।
प्रतिनिधिसभामा हाल रास्वपासहित ६ दलको प्रतिनिधित्व छ। उपसभामुखले राष्ट्रपतिको उपस्थितिमा सभामुखसमक्ष शपथ लिने व्यवस्था छ।
सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्को सदस्य हुने भएकाले उपसभामुख कुन दलबाट चयन हुन्छ भन्ने विषयलाई महत्त्वका साथ हेरिन्छ । नेपालको संविधानको धारा २८४ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको सिफारिस गर्ने व्यवस्था छ।

