केर्खा (कमल), २३ चैत–नयाँ वर्ष-२०८३ को अवसर पारेर झापाको कमल गाउँपालिकामा कमल मिनी म्याराथन २०८२ आयोजना हुने भएको छ । “हामी युवाको प्रतिबद्धता, लागूऔषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने मूल नारासहित मिनी म्याराथन सञ्चालन गर्न लागिएको हो ।

आयोजक कमल युथ फाउन्डेशनका अनुसार बैशाख १ गते १२ किलोमिटर दूरीको ओपन मिनी म्याराथन प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगितामा करिब ३ हजार खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको अध्यक्ष जितेन साम्पाङले जनाए । उक्त कार्यक्रमको संयोजक आशिष लेछार्बो रहेका छन् ।

कार्यक्रम संयोजक लेछार्वीका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । साथै, पहिलो १० जना विजेतालाई मेडल र सबै सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ । म्याराथन कमल–४ स्थित रिजाल पेट्रोल पम्पबाट सुरु भई समयगढ, क्याम्पा बजारहुँदै केर्खामा पुगेर समापन हुनेछ ।

प्रतियोगितामा सहभागिता जनाउन इच्छुक खेलाडीहरूले कमल युथ फाउन्डेशनको फेसबुक पेजमार्फत अनलाइन फारम भर्न सक्नेछन्।

प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ भने परिचय खुल्ने कुनै पनि कागजातका आधारमा दर्ता गर्न सकिनेछ । विभिन्न पालिकाका खेलाडीहरूलाई पनि सहभागिताका लागि खुला गरिएको आयोजकले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *