काठमाडौं, २४ चैत–सरकारले राजनीतिक कोटामा नियुक्त राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो। परराष्ट्र मन्त्रालयले सोमबार राजदूतावासलाई चिठी लेखेर ६ राजदुतलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी गराएको छ।

फिर्ता गरिएका राजदूतहरूमा भारतका लागि डाक्टर शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि डाक्टर पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि डाक्टर शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ रहेका छन्।

उनीहरुलाई एक महिनाभित्र फिर्ता हुन भनिएको छ। उनीहरूलाई केपी ओली नेतृत्वको तत्कालीन सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेको थियो।

यसअघि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गैरदलीय अन्तरिम सरकारले गत असोज ३० गते एकसाथ ११ देशमा कार्यरत नेपाली राजदूतलाई फिर्ता बोलाएको थियो। फिर्ता बोलाइएका उनीहरू सबै राजनीतिक कोटामा राजदूत बनेका थिए।

त्यति बेला सरकारले राजदूतहरू कृष्णप्रसाद ओली (चीन), शैल रुपाखेती (जर्मनी), दुर्गाबहादुर सुवेदी (जापान), धनप्रसाद पण्डित (इजरायल), नेत्रप्रसाद तिम्सिना (मलेसिया), रमेशचन्द्र पौडेल (कतार), जंगबहादुर चौहान (रुस), डाक्टर नरेशविक्रम ढकाल (साउदी अरेबिया), चन्द्रकुमार घिमिरे (बेलायत), लोकदर्शन रेग्मी (अमेरिका) र शनिल नेपाल (स्पेन) लाई फिर्ता बोलाइएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *