रुबीकुमारी ठाकुर

काठमाडौं, २७ चैत–प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएको निर्वाचनमा राप्रपाकी उम्मेदवार सरस्वती लामालाई पराजित गर्दै ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन्।

निर्वाचनमा उपस्थित २५७ सांसदमध्ये रुबीकुमारी ठाकुरले २१५ मत प्राप्त गरिन् भने सरस्वती लामाले ५ मत मात्रै पाइन्। ठाकुरलाई सत्तारुढ दल रास्वपा, कांग्रेस र नेकपाको समर्थन रहेको थियो। एमालेका २५ सांसद उपस्थित भए पनि मतदान नगरी तटस्थ बसेका थिए। निर्वाचनमा ३७ मत तटस्थमा खसेको जनाइएको छ।

२५ वर्षीया रुबीकुमारी ठाकुर नेपालकै सबैभन्दा कम उमेरकी उपसभामुख बनेकी छन्। उनी हालको प्रतिनिधिसभाकी कान्छी सदस्यसमेत हुन्। श्रम संस्कृति पार्टीले उनलाई मधेसी महिला कोटाअन्तर्गत समानुपातिक बन्दसूचीमार्फत प्रतिनिधिसभामा पठाएको थियो।

धनुषाको सामान्य परिवारमा जन्मिएकी ठाकुरको पारिवारिक पृष्ठभूमि साधारण रहेको छ। उनका पिता सोगराथ ठाकुर वैदेशिक रोजगारीका लागि साउदी अरबमा कार्यरत छन् भने आमा रेणु गृहणी हुन्। परिवारको जीविकोपार्जन अधियाँमा गरिएको खेती र वैदेशिक रोजगारीबाट आएको आम्दानीमा निर्भर रहेको उल्लेख गरिएको छ।

शैक्षिक रूपमा उनले २०७४ सालमा एसईई उत्तीर्ण गरेपछि धनुषास्थित बलरा पोलिटेक्निकबाट इन्जिनियरिङ विषयमा तीन वर्षे डिप्लोमा अध्ययन पूरा गरेकी हुन्। सांसद बन्नुअघि उनी एक आर्किटेक्चर कन्सल्टेन्सीमा कार्यरत थिइन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *