काठमाडौँ, २९ चैत–अमेरिका र इरानबीच पाकिस्तानमा २१ घण्टासम्म चलेको उच्चस्तरीय शान्ति वार्ता निष्कर्षबिहीन भएको छ।

पाकिस्तानको मध्यस्थतामा भएको वार्तामा सहमति नजुटेपछि अमेरिकी टोली अब पाकिस्तान छोड्ने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको भनाइ उद्धृत गर्दै जनाएका छन्।

उपराष्ट्रपति भान्सका अनुसार, अमेरिका वार्तामा ुसद्भावका साथु सहभागी भए पनि इरानबाट आणविक हतियार नबनाउने स्पष्ट प्रतिबद्धता देखिएको छैन। उनले इरानले आणविक हतियार विकास नगर्ने र आवश्यक साधनहरू नखोज्ने ठोस प्रतिबद्धता दिनुपर्ने उल्लेख गरे ।

इरानी विदेश मन्त्रालयले भने वार्तालाई सकारात्मक भएको भन्दै अमेरिकालाई अत्यधिक माग अघि नसराउन आग्रह गरेको छ। इरानले आफ्ना ‘वैध अधिकार र हित’ को रक्षा आवश्यक रहेको जोड दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको परिणामले खासै फरक नपर्ने प्रतिक्रिया व्यक्त गर्दै ‘जे भए पनि हामी जित्छौ’ भनेका छन्। वार्ताको मुख्य विषय इरानको आणविक कार्यक्रम, हर्मुज जलमार्ग खोल्ने र क्षेत्रीय तनाव कम गर्ने रहे।

यसैबीच अमेरिकी सेनाले हर्मुजमा नौसैनिक गतिविधि बढाएको बताइएको छ, यद्यपि इरानले त्यसलाई अस्वीकार गरेको छ।

उपराष्ट्रपति भान्सले पाकिस्तानको शान्तिको प्रयासको प्रशंसा गर्दै वार्ताको असफलतामा अमेरिकी टोलीको कुनै कमजोरी नभएको बताएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *