झापा, ३० चैत–झापामा ९४ प्रतिशत भन्दा बढी क्षयरोगीको सफल उपचार भएको छ । जिल्लामा फेला परेका कूल क्षयरोगीमध्ये ९४ दशमलव ३१ प्रतिशतको सफल उपचार भएको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८१/८२ मा जम्मा एक हजार तीन सय २२ जना क्षयरोगका बिरामी फेला परेको बताउहुँदै उहाँले जिल्लाका १५ पालिकामध्ये सबैभन्दा बढी कनकाईमा शतप्रतिशत उपचार सफल दर रहेको बताउनुभयो ।
त्यस्तै, दमक ९८ दशमलव ८१ प्रतिशत र बुद्धशान्ति गाउँपालिकामा ९७ दशमलव ८३ प्रतिशत उपचार सफल दर रहेको छ । जिल्लामा सबैभन्दा कम शिवसताक्षीमा ८२ दशमवल ५ प्रतिशत रहेको फोकल पर्सन दासले जानकारी दिनुभयो । “छिमेकी मुलुक भारतको खुल्ला सीमासँग जोडिएको स्थानीय तहमा संक्रमण दर बढी देखिएको छ”, उहाँले भन्नुभयो, “झापामा क्षयरोगको संक्रमण दर उकालो लाग्ने क्रममा रहेको छ ।”
राष्ट्रिय स्तरमा क्षयरोग उन्मुलनको अवस्थामा नरहे पनि झापा जिल्लाको हकमा भने उन्मुलनको मापदण्ड (रोगी फेला पर्ने दर प्रतिलाख १२९.५) भन्दा कम रहेको उहाँले बताउनुभयो ।
आव २०८१/८२ मा क्षयरोग रोगको नयाँ रोगी फेला पर्ने दर ५७ दशमलव ५ प्रतिशत रहेको बताउनुहुँदै उहाँले विगत तीन वर्षको विश्लेषण गर्दा बढिरहेको देखिएको बताउनुभयो । “समुदायमा लुकेर रहेको क्षयरोगीहरू पत्ता लगाउने क्रममा जारी रहेको उहाँले बताउनुभयो ।
जिल्लामा चालू आर्थिक वर्ष २०८२/०८३ को पुस मसान्तसम्म पाँच सय २४ नयाँ क्षयरोगी फेला परेका छन् । जसमध्ये तीन सय ३५ जना पुरुष, एक सय ६९ महिला र २० जना बालबालिका रहेको फोलक पर्सन दासले जानकारी दिनुभयो ।

