भद्रपुर, ६ वैशाख–प्रतिस्पर्धात्मक प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड सामु स्तब्ध बन्दै भुटानको थिम्पु सिटी फुटबल क्लब पहिलो खेलबाटै घर फर्किएको छ ।

ओम साई पाथीभरा चन्द्रगढी महिला गोल्डकपको दोस्रो दिनको खेलमा चर्च ब्वाइज ३–२ गोल अन्तरले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको २७औँ मिनेटमा चर्च ब्वाइजले अग्रता बनायो । भुटानकी गोलकिपर अगाडि बढेको अवस्थामा चर्च ब्वाइजकी मरियम खातुनले दायाँ बार च्याप्दै डिबक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो ।

पहिलो हाफको अतिरिक्त समयमा खातुनले नै दोस्रो गोल थपिन् । वर्षा ओलीले मिलाइदिएको पासमा खातुनले प्रहार गरेको एक्रोब्याटिक प्रहारले भुटानका खेलाडीलाई टच हुँदै गोल भएको थियो ।

पहिलो हाफ २–० को अग्रता बनाएको चर्चले दोस्रो हाफको ४४औँ मिनेटमा पहिलो गोल खायो । भुटानकी रोता राईले चर्चकी गोलकिपरलाई बिट गर्दै गरेको प्रहार गोलमा परिणत भएको थियो ।

भुटानले अर्को गोल उपहारमार्फत पायो । ५८औँ मिनेटमा प्रिया घलेको क्रसलाई चर्चकी डिफेन्डर मनिता तामाङले क्लियर गर्न खोज्दा गोल भएको थियो । ७९औँ मिनेटसम्म चर्चसँग २–२ को बराबरी खेलेको भुटानले खेलमा अन्तिम गोल डिफेन्डरको गल्तीमा खायो ।

मैदानको मध्य भागमा पाएको बललाई वर्षा ओलीले गोलकिपरलाई बिट गर्दै गोल गरेकी थिइन् । उनकै गोलको मद्दतले चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

खेलको प्लेयर अफ द म्याच विजेता चर्च ब्वाइजकी मरियम खातुन भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।

भोलि सोमबारको खेल नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच हुने आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *