काठमाडौं, १४ वैशाख–नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् । महामन्त्री प्रदीप पौडेलले दलको नेतामा आङ्देम्बेलाई बनाउने सहमति भएको बताए ।
विश्वप्रकाश शर्मा संयोजकत्वको समितिले संसदीय दल नेता आकांक्षीहरू र सांसदहरूसँग चरणबद्ध रूपमा गरेको छलफलपछि आङ्दम्बेलाई बनाउने निश्चित गरेको हो । समितिले संसदीय दल नेताका रूपमा प्रस्ताव गर्न सभापति गगन थापालाई नाम दिएको हो ।
अर्जुननरसिंह केसी, आङ्देम्बे र मोहन आचार्यले दाबी गरेका कारण कांग्रेसले दलको नेता चयन गर्न सकेको थिएन। सभापति थापाले अहिले सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा यसबारे जानकारी गराउनेछन्।
आङ्देम्बेलाई पूर्व सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षको समेत समर्थन रहेको बताइन्छ । उनलाई सर्वसम्मतिमा दलको नेता चयन गर्न उपसभापति शर्माको पनि रुची रहेको थियो ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट जितेको थियो। कांग्रेसको संसदीय इतिहासमा २०६४ सालको निर्वाचनपछि संसदीय दलको नेता सर्वसम्मत चयन हुन सकेको थिएन ।

