दमक, १५ बैशाख–करेन्ट लागेर आज विहान झापाको दमकमा एक महिलाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा दमक ९ अडियामलका घनश्याम धिमालकी श्रीमती ३८ बर्षिया लिलामाया धिमाल रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान करिब ९ः४५ बजे उनलाई आफ्नै घरमा करेन्ट लागेको थियो ।नुहाउनका लागि पानीको मोटर सञ्चालन गर्ने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी र तत्काल उपचारका लागि निम्स अस्पताल, दमक लगिएको थियो।
अस्पतालमा उपचारकै क्रममा चिकित्सकले बिहान करिब ११ः४५ बजे मृत घोषणा गरेका थिए । मृतकको पार्थिव शरीर आज साँझ नै अन्त्येष्टि गरिएको थियो ।
प्रहरीले घटनाका बारे थप अनुसन्धान शुरु गरेको जनाएको छ ।
