दमक बहुमुखी क्याम्पस

दमक, २१ वैशाख–झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा आधुनिक प्रबिधिसहितको पुस्तकालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार क्याम्पस परिसरमा निर्माण गरिने भवनको शिलान्यास गरेका छ्न ।
प्रदेश सरकारको कुल १ करोड ७९ लाख रुपैयाँको लागतमा २०८५ बैशाख सम्ममा बनाइने सो भवनमा अन्डर ग्राउन्ड चमेना गृह समेत रहने क्याम्पसले जनाएको छ ।

क्याम्पस संचालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको शिलान्यासमा दमक नगर प्रमुख रामकुमार थापा सहभागी भएका छन् ।

शिलान्यास समारोहपछिको औपचारिक कार्यक्रममा भने नगर प्रमुख थापा सहभागी नभई हिंडेका थिए ।

औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले दमक क्याम्पसको गौरवपूर्ण इतिहास भएको बताउँदै यसले पछिल्ला दिनहरुमा शैक्षिक गुणस्तरमा समेत राम्रो फड्को मारेको आफूले पाएको बताए । उनले मेची बहुमुखी क्याम्पस भद्रपुर भन्दा पनि धेरै बिद्यार्थी अध्ययन गर्ने क्याम्पसको रुपमा यो क्याम्पसले रेकर्ड बनाउन सफल भएको भन्दै प्रशंसा गरे ।
उनले कोशी प्रदेश सरकारले अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुसँगको समन्वय र सहकार्यमा कम्तीमा ३० वटा सामुदायिक बिद्यालयको शैक्षिक बिकासका लागि पहलकदमी लिएको चर्चा पनि गरे ।

कोशी प्रदेशका पहाडी जिल्लाहरुबाट तराई तर्फ बसाइँसरी आउनेको दर उच्च हुँदा प्राकृतिक सौन्दर्यताले भरिएको प्रदेशको ठुलो भुभाग रित्तिन सक्ने सम्भावनालाई राम्रो संकेतका रुपमा बुझ्न नसकिने बताउँदै पहाडी जिल्लामासमेत सरकार शिक्षा क्षेत्रसँगै आर्थिक चलायमानका लागि पर्यटकीय बिकासलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले आगामी बर्षको नीति कार्यक्रमहरु अघि सार्ने उल्लेख गरे ।

औपचारिक कार्यक्रममा क्याम्पस प्रमुख यज्ञराज गिरीले प्रदेश सरकारका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गरे । उनले संघीय सरकारको अनुदान सहयोगमा क्याम्पसको प्रशासनिक भवन निर्माण शुरु गरिएता पनि पछिल्लो समय सरकारले बजेट कटौती गरिदिँदा समस्या उत्पन्न भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सो अवसरमा क्याम्पस सञ्चालक समितिका पुर्व अध्यक्ष सुरेश सुब्बाले पनि शुभकामना मन्तव्य राखे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष भण्डारीले बिद्यार्थीहरुलाई अधिकतम सेवा सुविधासहित क्याम्पसमा सहज वातावरणमा अध्ययनको वातावरण बनाउन सञ्चालक समिति प्रतिबद्ध रहेको जनाए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *