फाइल तस्विर

काठमाडौं, २२ वैशाख–सरकारले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटो पर्ने भूमि नेपालकै हो भन्ने कुरामा प्रतिबद्ध रहेको बताएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सीमा विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयले आधिकारिक धारणा सार्वजनिक गरिसकेको जानकारी दिए ।

उनले यो विषय अब दुई देशका सरकारबीचको सहकार्य र कूटनीतिक संवादमार्फत समाधान गरिने बताए । ‘नेपाल सरकार प्रतिबद्ध छ । परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको थियो । त्यसमा भारत सरकारले पनि केही गरेको छ । भारत सरकारले पनि खुला सहकार्यबाट यसको कुनै निकास निकाल्नुपर्छ भनेको छ,’ प्रवक्ता पोखरेलले भने ।

मन्त्री पोखरेलले परराष्ट्र मन्त्रालयद्वारा जारी गरिएको नोट केवल सार्वजनिक जानकारीका लागि मात्र नभई औपचारिक रूपमा पठाइएको पत्र भएको समेत स्पष्ट पारे । भारत सरकारले हालै जारी गरेको भनिएको वक्तव्यमा नेपालले सीमा विस्तार गर्न खोजेको भन्ने आशय व्यक्त गरिएकोप्रति सङ्केत गर्दै उनले त्यसको खण्डन गरे ।

भारत सरकारले हालै जारी गरेको भनिएको वक्तव्य र त्यसमा नेपालले सीमा विस्तार गर्न खोजेको भन्ने आशयको बुँदाप्रति सङ्केत गर्दै प्रवक्ता पोखरेलले भने, ‘त्यो सीमा विस्तार गरिएको विषय नै होइन, ती क्षेत्रहरू नेपालकै भूमि हुन्। यसमा सरकार स्पष्ट छ र आफ्नो अडानमा प्रतिबद्ध छ।’ ती क्षेत्रहरू नेपालकै ऐतिहासिक भूमि भएकोले यो सीमा विस्तार नभई आफ्नो भूमिको स्वामित्वको विषय भएको भन्दै उनले राष्ट्रिय अखण्डताका सवालमा सरकार पूर्ण प्रतिबद्ध रहेको बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *