दमक, २२ वैशाख–झापाको दमक–७ मा रहेको बसपार्क क्षेत्रका दुईवटा पसलमा आज बिहान आगोलागी हुँदा रु ३२ लाख बराबरको क्षति भएको छ।
आज (मंगलबार) बिहान ४ बजेतिर भएको आगोलागीबाट होमबहादुर खड्काले सञ्चालन गरेका ड्रागन होटल पूर्ण रुपमा जलेर नष्ट भएको छ भने होटलसँगै रहेको जनता टायर रिपेरिङ पसलमा आंशिक रुपमा क्षति भएको छ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार आगलागीबाट होटलको करिब ३० लाख बराबरको सरसामानहरू जलेर नष्ट भएको छ भने मोहम्मद नसिमले सञ्चालन गरेको टायर पसलको रु २ लाख बढिको सरसामानहरू जलेर नष्ट हुन पुगेको थियो।
आगोलागी विद्युत सर्ट भई लागेको हुनसक्ने प्रहरीको अनुमान छ । आगोलागी दमक, उर्लाबारी, कमलको बारुणयन्त्रसहित प्रहरी, स्थानीयहरूको सहयोगमा करिब १ घण्टा पछि नियन्त्रणमा आएको प्रनाउ लम्सालले जानकारी दिए ।
प्रहरीका अनुसार होटलबाट सुरु भएको आगो बिस्तारै टायर पसलसम्म पुगेको थियो। आगोलागीबाट होटलका पाँचवटा फ्रिज, टेवल कुर्सी , भाँडा बर्तन, खाद्य सामग्री, लत्ता कपडाहरु लगायतका सबै समानहरू पूर्ण रुपमा नष्ट भएको थियो।
