काठमाडौँ, २२ वैशाख–नेपाली काँग्रेस पार्टीले सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकोप्रति आपत्ति जनाएको छ।
मंगलवार संसद् समन्वय बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आपत्ति जनाएका हुन्। उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए।
उनले सरकारले आफ्ना अनुकूल व्यक्तिलाई महत्वपूर्ण संवैधानिक आयोगहरूमा नियुक्त गरी आयोगहरू आफ्नो नियन्त्रणमा राख्ने नियतले अध्यादेश ल्याएको बताए।
उनले अध्यादेशमार्फत भएका निर्णयविरुद्ध संसद्मा सशक्त रूपमा आवाज उठाउने चेतावनी दिए। सबै अध्यादेश जारी भइसकेपछि मात्रै संसद् बोलाइने सरकारको निर्णयले समेत सरकारको बदनियतको संकेत गरेको उनको भनाइ छ।
आङदेम्बेले भने, ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएको छ। यसमा हाम्रो आपत्ति छ। सरकारले संवैधानिक आयोगहरूमा आफूअनुकूल मान्छे नियुक्त गरी नियन्त्रणमा राख्ने खालको प्रवृत्ति देखायो। यसका विरुद्धमा हामी संसद्मा आवाज उठाउँछौँ। यतिका धेरै अध्यादेश पास भएपछि संसद् बोलाउनुले सरकारको बदनियत देखिन्छ।’
उनले सरकारले सुकुमवासी बस्ती व्यवस्थापनमा समेत मानवीय समवेदनालाई ख्याल नगरेको भन्दै आपत्ति जनाए।

