दमक, २८ बैशाख–आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बालबालिका सम्बन्धी योजना, कार्यक्रम तथा नीति निर्माण प्रक्रियामा बालबालिकाको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले झापाको दमकमा नगर बाल भेला सम्पन्न भएको छ ।
नगर बाल सञ्जाल दमकको आयोजना तथा दमक नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भेलामा नगरभित्रका विभिन्न वडाका बाल सञ्जाल अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नगर बाल सञ्जाल दमकका अध्यक्ष दिवस वाग्लेको सभाध्यक्षतामा भएको बाल भेलामा नगर प्रमुख रामकुमार थापा प्रमुख अतिथिका रुपमा सहभागी थिए भने उपप्रमुख रेगिना भट्टराई विशेष अतिथीका रुपमा सहभागी थिइन् ।
नगर उपप्रमुख प्रसाईले शुभकामना मन्तव्य दिँदै बालबालिकाको क्षमता विकास, नेतृत्व विकास तथा बाल अधिकार सुनिश्चिततामा यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन् । कार्यक्रममा संस्थाका पूर्व पदाधिकारी तथा दमकका १० वटै वडाका बाल सञ्जाल अध्यक्षसहित पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
भेलामा बालबालिकाका शिक्षा, स्वास्थ्य, संरक्षण, प्रतिभा विकास, खेलकुद तथा बालमैत्री वातावरण निर्माणलगायत विषयमा छलफल गरिएको दमक ५ का वडा बाल सञ्जाल सहसचिव बिदुर पौडेलले जानकारी दिए । सहभागी बालबालिकाले आगामी वर्षका लागि आवश्यक योजना तथा कार्यक्रमसम्बन्धी सुझाव प्रस्तुत गरेका नगर बाल सञ्जालकी सचिव लेलिन गौतमले बताए । कार्यक्रमको सहजीकरण आकृति बस्नेत र विशाल प्याकुरेलले गरेका थिए ।
सहभागीहरुलाई नगरले बालबालिका लक्षित कार्यक्रमहरु कस्ता हुनुपर्छ ? समुदाय र बिद्यालयमा के कुरा मन पर्छ ? के कुरा मन पर्दैन रु जस्ता प्रश्नावली सोधिएको थियो । सहभागीहरुले राखेको जवाफ तथा सुझावका आधारमा बालबालिका सम्बन्धिका आगामी कार्यक्रमहरु तय गरिने नगरपालिकाको भनाई छ ।
