क्याम्पा बजार (कमल) ३१ बैशाख–झापाको कमल गाउँपालिकामा कार्यरत सामुदायिक बिद्यालयका शिक्षक-शिक्षिकाहरुले स्थानीय सरकार र सम्बन्धित बिद्यालय व्यवस्थापन समितिसँग अनुमति÷स्वीकृत नलिई बाहिरका शिक्षण संस्थामा काम गर्न जान नपाउने व्यवस्था कडाइँसाथ लागू गर्ने भएको छ ।
सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि कठोर कदम चाल्ने गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने सिलसिलामा पालिकाले आज एक बिद्यालयलाई परिपत्र गर्दै त्यस्तो जनाएको हो ।
गाउँपालिकाले शिक्षा नियमावली २०५९ तथा शिक्षक आचारसंहितामा सामुदायिक विद्यालयका शिक्षकले व्यवस्थापन समिति र जिल्ला शिक्षा अधिकारीको स्वीकृति बिना आफू कार्यरत विद्यालय बाहिर काम गर्न नपाइने व्यवस्था रहेको स्मरण गराएको छ ।
वडा नं ६ स्थित बाणी माध्यमिक विद्यालयका केही शिक्षकले अन्य शैक्षिक संस्थामा समेत अध्यापन गरिरहेको भन्ने गुनासो आएपछि यथार्थ विवरण पेश गर्न विद्यालयलाई निर्देशन समेत दिइएको छ ।
गाउँपालिकाको शिक्षा शाखाबाट जारी पत्रअनुसार विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा सरोकारवालाले संयुक्त हस्ताक्षरसहित दिएको निवेदनका आधारमा सो विषयमा चासो लिइएको हो । निवेदनमा विद्यालयका प्रधानाध्यापकसहित केही शिक्षकले अन्य शिक्षण संस्थामा समेत अध्यापन गरिरहेको उल्लेख गरिएको छ ।
सम्बन्धित शिक्षकहरूले आवश्यक स्वीकृति लिएर मात्र बाह्य अध्यापन गरेको हो वा होइन भन्ने विषयमा स्पष्ट विवरण उपलब्ध गराउन गाउँपालिकाले निर्देशन गरेको शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेद्धारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
