इलाम, १ जेठ–नेपाली चियाको बजार भारत भए पनि गुणस्तरको बहाना बनाएर नेपाली चिया निर्यातमा पटक पटक अवरोध सिर्जना भएको छ ।
नेपाली भन्सार पार भएर पानी ट्याङ्की पुगेका ट्रकहरू महिनौँ रोकिँदा पनि तीन तहको सरकारले निर्यातका लागि सहजीकरण गर्न सकेका छैनन् ।
व्यापारीहरु आफैंले सहजीकरण गरेर दुई देशीय मामिला मिलाउने गरेका छन् । मे १ देखि नेपाली चियाको निर्यात ठप्प छ । यो समस्या समाधान गर्न चिया उत्पादक सङ्घ लागेको छ ।
सङ्घीय सरकारको प्राथमिकतामा चिया क्षेत्र पर्न नसक्दा उत्पादन सङ्घ आफैंले भारतीय सरकारसँग डिल गरिरहेको छ । एक उद्योगीले भन्नुभयो, ‘हामी मिलाउने तहमा पुगेका छौं । धेरै हल्ला खल्ला गर्नुभएन ।’
नेपालमा चियाको गुणस्तर मापन गर्ने ल्याब छैन । नेपालमा ल्याब नभएका कारण नेपालबाट निर्यात गरिने चियाको गुणस्तर परीक्षणका लागि व्यापारीहरु भारतको कोलकत्ता पुग्ने गरेका छन् ।
नेपालबाट भन्सार तिरेर पानी ट्याङ्की पुगेपछि नमुना परीक्षणका लागि चियाको कोलकत्ता लग्ने गरिएको छ । कोलकत्तामा रहेको निजी ल्याबबाट गुणस्तर परीक्षणको रिर्पोट आएपछि मात्रै चिया निर्यात हुँदै आएको थियो ।
तर भारतीय टी बोर्डले मे १ बाट नयाँ नियम लागू गर्यो । नयाँ नियम अनुसार अब नेपाली चियाको परीक्षण अनिवार्य रूपमा केन्द्रीय खाद्य प्रयोगशाला परीक्षण गराउनुपर्ने र प्रत्येक ट्रकको नमुना परीक्षण गर्नु पर्ने छ ।
केन्द्रीय खाद्य प्रयोगशालाले नेपाली चियाको परीक्षणमा ढिलाइ गरिदिने र गुणस्तरको प्रमाण पत्र समेत नदिने भन्दै अहिले व्यपारीहरु समस्यामा छन् ।
यसले गर्दा मे १ बाट नेपालबाट चिया निर्यात हुन सकेको छैन । भारत निर्यात हुन नसक्दा मे १ यता नेपाली व्यापारीहरु समस्यामा परेका छन् ।
उनीहरू आफ्नो हिसाबले समस्या समाधान गर्न लागेपनि सरकार भने यस विषयमा मौन छ । चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले चिया निर्यातमा समस्या भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालबाट निर्यात हुने माल बस्तुमा चियाको योगदान ठुलो छ । तर अहिले अनिवार्य भारतीय सरकारको स्वामित्वमा रहेको प्रयोगशालाबाट मात्रै परीक्षण गराउनु पर्ने बाध्यकारी नियम आएपछि नेपाली चियाको गुणस्तर कमजोर देखाएर निर्यात रोक्ने तयारी भएको छ ।’
उहाँले नेपाली चियाको गुणस्तर राम्रो भए पनि पश्चिम बङ्गालमा उत्पादन भएका चियाको बजारीकरणका लागि नेपाली चियाको निर्यात रोक्ने तयारी भएको बताउनु भयो ।
नेपालको अर्थोडक्स चिया तेस्रो देशमा निर्यात हुनुअघि हरियो पत्ती दार्जीलिङ लगेर भारतीयहरूले दार्जीलिङ चियाको ब्रान्डका रूपमा बिक्री गर्दै आएका थिए ।
यही उद्योग स्थापना भएपछि नेपाली अर्थोडक्स चियाको हरियो पत्ती भारत जान छाडेको छ । यसले गर्दा पश्चिम बङ्गालका उद्योगी व्यपारीहरुले नेपाली चिया निर्यातमा रोक लगाउन भारत सरकारलाई दबाब दिँदै आएका छन् ।
दार्जिलिङ चिया बोर्डले नेपाली चियाको आयात रोक्न पश्चिम बङ्गाल सरकारलाई लिखित आग्रह गरेको थियो।
दार्जिलिङ टी एसोसिएसनले २०१७ मा तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई भेटेर नेपाली चियाको आयात नियन्त्रण गर्न ज्ञापन बुझाएको थियो।
त्यसको २ वर्षपछि सन् २०१९ मा पश्चिम बङ्गालबाट राज्यसभामा प्रतिनिधित्व गर्ने तत्कालीन सांसद शान्ता क्षेत्रीले नेपाली चियाको गुणस्तरमाथि प्रश्न उठाउँदै आयात रोक्नुपर्ने माग गर्नु भएको थियो।
राज्य सभामा नै नेपाली चियाको गुणस्तरमा प्रश्न उठेपछि सरकारले अनिवार्य रूपमा केन्द्रीय खाद्य प्रयोगशालामा परीक्षण गर्नुपर्ने नियम बनाएको देखिन्छ ।
नेपालमा अर्थोडक्स र सिटी सी चियाको १० अर्ब भन्दा बढिको कारोबार हुने गरेको छ । त्यो मध्ये ५० प्रतिशत भन्दा अर्थात् ५ अर्ब रुपैयाँको कारोबार भारतमा हुने गरेको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार यस आर्थिक वर्षको चैत्र मसान्त सम्ममा १३ करोड केजी सिटी सी चिया निर्यात भएको छ । यस्तै ७१ हजार ७१४ केजी अर्थोडक्स चिया निर्यात भएको छ ।

