दमक,५ जेठ–ग्लोबल आइएमई बैंक दमकमा कार्यरत पिताम्बर खड्का झापाको दमक-८ लक्ष्मीमार्ग टोलस्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार ४२ वर्षीय उनी घरको भुइँतल्लाको कोठामा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
प्रहरीले प्रारम्भिक रूपमा घटनालाई आत्महत्यासँग जोडेर अनुसन्धान अघि बढाएको छ । पोस्टमार्टम प्रक्रिया सम्पन्न भइसकेको तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाइएको छ ।
मृतकका बुवा महेश खड्काले छोरालाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा पुगेको टोलीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि पठाएको थियो ।
घटनाअघि खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत बैंकका उच्च व्यवस्थापन तहका केही अधिकारीहरूको तस्वीर सार्वजनिक गर्दै आफूले यस्तो निर्णय लिन बाध्य भएको आशय व्यक्त गरेको विवरण सार्वजनिक भएको छ ।
उक्त पोस्टमा बैंकका प्रदिपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको सामूहिक फोटो फेसबुकमा राख्दै उनीहरूकै कारण आफूले आत्महत्या गर्न बाध्य भएको आशय व्यक्त गरेका थिए।
अनुसन्धानका लागि मृतकको मोबाइल नियन्त्रणमा
प्रहरीले घटनाको अनुसन्धानका लागि मृतकको मोबाइल नियन्त्रणमा लिएको छ । मोबाइलको प्राविधिक परीक्षण, पासवर्ड खुलाउने प्रक्रिया तथा सामाजिक सञ्जाल सामग्रीको विश्लेषण भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
अनुसन्धानका क्रममा खड्का यसअघि बैंकको आन्तरिक प्रक्रियामा परेको तथा उनीमाथि स्पष्टीकरण सोधिएको विषय पनि खुलेको छ । उनी केही समयअघि झापास्थित चारआली शाखामा शाखा प्रबन्धकका रूपमा कार्यरत रहेको र पछि कोशी प्रदेश कार्यालय, विराटनगरमा सरुवा भएको विवरणसमेत बाहिर आएको छ ।
यद्यपि आन्तरिक प्रक्रिया, सरुवा तथा घटनाबीच प्रत्यक्ष सम्बन्ध रहेको वा नरहेको विषय अनुसन्धानबाटै निष्कर्षमा पुगिने प्रहरीले जनाएको छ ।घटनापछि बैंक व्यवस्थापनले पनि आन्तरिक रूपमा परिस्थितिबारे छलफल गरिरहेको स्रोतहरूको भनाइ छ । यद्यपि बैंकले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन् ।
प्रहरीले मृतकले सामाजिक सञ्जालमा उल्लेख गरेका व्यक्तिहरू, कार्यस्थलका सहकर्मी तथा सम्बन्धित पक्षसँग पनि आवश्यक सोधपुछ गर्ने तयारी गरेको जनाएको छ ।
घटनाको पृष्ठभूमि, कार्यस्थलको अवस्था, सामाजिक सञ्जाल अभिव्यक्ति तथा व्यक्तिगत पक्षहरूलाई समेटेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । –प्रदेशबाणी डटकमबाट

