काठमाडौँ, ५ जेठ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्की जोडिएको एउटा गम्भीर र विवादित विषयले प्रतिनिधि सभामा प्रवेश पाएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले यस मामिलालाई जोडदार रूपमा उठाउँदै सदनको ध्यानाकर्षण गराएकी हुन्।
सांसद कार्कीमाथि नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर बिचल्लीमा पारेको गम्भीर आरोप लागेको छ। सोही प्रसङ्गलाई लिएर सांसद विकले संसद्मा आफ्नो कुरा राखेकी हुन्।
सदनमा बोल्दै सांसद विकले भनिन्, ‘सत्तापक्षका एकजना सांसदले विदेशी महिलालाई गर्भवती बनाएर बेपत्ता पारेको विषय सामाजिक सञ्जालभरि छाएको छ। यो घटनाले एकदमै दुःखद परिस्थिति निम्त्याएको छ। यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालीहरूको छवि कस्तो बनाउँछ ? हाम्रो राष्ट्रियताको सवालमा यसले कस्तो असर पार्छ ? बाह्य मुलुकहरूले हाम्रो देश र नागरिकलाई कुन नजरले हेर्छन् र कसरी मूल्याङ्कन गर्छन्र’ ।
सांसद विकले यस घटनाको वास्तविक तथ्य के हो भन्नेबारे तत्काल सदनलाई स्पष्ट जानकारी गराउन सरकारसँग माग गरेकी छन्। उनले यदि यो आरोप सत्य साबित भएमा सांसद कार्कीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिनुपर्ने कुरामा जोड दिएकी छन्।
