काठमाडौं, ६ जेठ–सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ४ करोड रूपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय का अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म सार्वजनिक ऋणको आकार ३० खर्ब नजिक पुगेको हो।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा सार्वजनिक ऋणमा ५ खर्ब ३२ अर्ब ९१ करोड रूपैयाँ बराबर थपिएको छ। सोही अवधिमा सरकारले २ खर्ब ३१ अर्ब ९२ करोड रूपैयाँ साँवा भुक्तानी गरेको छ। यससँगै १० महिनामा सार्वजनिक ऋणको खुद वृद्धि ३ खर्ब ९९ करोड रूपैयाँ बराबर भएको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रूपैयाँ थियो। वैशाख मसान्तसम्म आन्तरिक ऋण १३ खर्ब ८१ अर्ब २२ करोड रूपैयाँ पुगेको छ भने बाह्य ऋण १५ खर्ब ९३ अर्ब ८१ करोड रूपैयाँ पुगेको छ।

यस वर्ष अमेरिकी डलर बलियो हुँदा विनिमय दरका कारण बाह्य ऋणमा थप चाप परेको कार्यालयले जनाएको छ। विनिमय दरकै कारण बाह्य ऋण दायित्वमा १ खर्ब ६७ अर्ब ७५ करोड रूपैयाँ थपिएको छ।

सरकारले चालु आर्थिक वर्षको वैशाखसम्म ३ खर्ब ६५ अर्ब १६ करोड रूपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ। त्यसमध्ये आन्तरिक ऋण २ खर्ब ९८ अर्ब ६६ करोड रूपैयाँ र बाह्य ऋण ६६ अर्ब ४९ करोड रूपैयाँ रहेको छ।

सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा पनि सरकारको ठूलो रकम खर्च भएको छ। वैशाखसम्म सरकारले २ खर्ब ९२ अर्ब ५२ करोड रूपैयाँ ऋण सेवा खर्च गरेको छ। त्यसमध्ये साँवा भुक्तानी २ खर्ब ३१ अर्ब ९२ करोड रूपैयाँ र ब्याज भुक्तानी ६० अर्ब ५९ करोड रूपैयाँ रहेको छ।

आन्तरिक ऋणतर्फ सरकारले १ खर्ब ८५ अर्ब ६६ करोड रूपैयाँ साँवा र ५० अर्ब ५२ करोड रूपैयाँ ब्याज तिरेको छ। बाह्य ऋणतर्फ ४६ अर्ब २५ करोड रूपैयाँ साँवा र १० अर्ब ६ करोड रूपैयाँ ब्याज भुक्तानी भएको छ।

अर्थ मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो ७ वर्षमा सार्वजनिक ऋण झन्डै दोब्बर भएको छ। आर्थिक वर्ष २०७६/७७ सम्म सार्वजनिक ऋण १४ खर्ब ३३ अर्ब ४० करोड रूपैयाँ थियो। अहिले यो रकम बढेर झन्डै ३० खर्ब रूपैयाँ पुगेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *