काठमाडौँ, ६ जेठ–भारतले नेपाली चियामा ट्रकैपिच्छे अनिवार्य प्रयोगशाला परीक्षण गर्ने नयाँ नियम लागू गरेपछि विगत दुई सातायता नेपालबाट एक किलो चिया पनि भारत पठाउन सकिएको छैन। वार्षिक पाँचदेखि छ अर्ब रुपैयाँ वैदेशिक मुद्रा भित्र्याउने यो उद्योग गम्भीर सङ्कटको भुमरीमा फसेको व्यवसायीहरूले बताएका छन्।

नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतीय चिया विकास निगमले वैशाख १८ गतेदेखि नयाँ ुस्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर (एसओपी)ु कार्यान्वयनमा ल्याएको हो। यसले नेपाली निर्यातकर्ताहरूमाथि थप प्रशासनिक र आर्थिक बोझ थपिएको छ।

पहिले एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण पास गरेपछि सोही प्रमाणपत्रका आधारमा १५ दिनसम्म १० ट्रक चिया सहजै भारत पठाउन मिल्थ्यो। तर नयाँ व्यवस्थाअनुसार काँकडभिट्टा नाकाबाट पानीटङ्की भन्सार प्रवेश गर्नेबित्तिकै प्रत्येक ट्रकको चियाको नमुना भारत सरकारको मान्यताप्राप्त प्रयोगशालामा पठाउनु अनिवार्य छ।

प्रत्येक ट्रकको नमुना परीक्षण शुल्क रु १८ हजार छ र रिपोर्ट आउन कम्तीमा १४ दिन लाग्छ। त्यति मात्र होइन, परीक्षण असफल भएमा सो चिया भारतीय बजारमा बेच्न वा तेस्रो मुलुकमा पठाउनसमेत नदिई सोझै जफत गरिने कडा प्रावधान राखिएको छ।

‘चिया निर्यातको यो मुख्य याम हो, अहिले करिब पाँच लाख किलोग्राम चिया निर्यातका लागि तयार छ,’ पराजुलीले भने, ‘तर भारतीय पक्षको नयाँ कडा प्रावधानका कारण कुनै पनि व्यवसायीले चिया भारततर्फ लैजाने आँट गर्न सकेका छैनन्। दुई सातादेखि एक पोका चिया पनि निर्यात भएको छैन।’

उनले यो नियमलाई निर्यात पूर्णरूपमा अवरुद्ध गर्ने नियत भएको नीतिको रूपमा व्याख्या गरे। ‘यो नियम संशोधन नभए नेपाली चियाको भारत निर्यातको ढोका सधैँका लागि बन्द हुनेछ,’ उनले थपे।

पानीटङ्की भन्सारमा १० देखि १४ दिनसम्म लोडेड ट्रक सुरक्षित राख्ने पर्याप्त पार्किङ स्थल र पूर्वाधार नभएको गुनासो पनि व्यवसायीहरूको छ। नेपाली चियाको मुख्य गन्तव्य भारत नै भएकाले यो अवरोधले समग्र उद्योगलाई थलपार्ने खतरा देखिएको छ।

नेपाल चिया उत्पादक सङ्घले यो गैरभन्सार अवरोध हटाउन नेपाल सरकारले भारतीय पक्षसँग तत्काल ‘जिटुजीु’ संवाद थाल्नुपर्ने माग राखेको छ। यसका लागि पहल भइरहेको सङ्घले जनाएको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा देशभरका २० हजार ६०२ हेक्टर चिया बगानबाट दुई करोड ६१ लाख २३ हजार १११ किलोग्राम तयारी चिया उत्पादन भएको थियो। सोही वर्ष चार अर्ब ५९ करोड आठ लाख ५६ हजार रुपैयाँ बराबरको चिया विदेश निर्यात भएको थियो।

मुलुकभर १७० वटा ठूला र १२० वटा साना तथा मझौला गरी तीन सयभन्दा बढी चिया बगान छन्। चिया उत्पादनमा १५ हजारभन्दा बढी साना किसान प्रत्यक्ष आबद्ध छन् भने एक लाख श्रमिक बगानदेखि उद्योगसम्म रोजगारीमा छन्। भारतको नयाँ नीतिगत कडाइले यी सबैको जीविका खतरामा पारेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *