काठमाडौं, १४ जेठ–काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बलियो टोली इरानसँग खेल्दैछ। खेल साँझ ५ बजे त्रिपुरेश्वस्थित राष्ट्रिय भलिबल कोर्टमा हुनेछ।

साविक विजेता समेत रहेको इरान समूह ‘बी’ मा अपराजित रहँदै समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो भने नेपाल समूह ‘ए’ को उपविजेता हो।

पहिलो खेलमै भारतसँग प्रतिस्पर्धात्मक खेलमा ३९२ ले पराजित हुँदै प्रतियोगिता सुरु गरेको नेपालले कीर्गिस्तान र माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो।

इरानले भने बंगलादेश, श्रीलंका र कजाखस्तानलाई समान ३–० सेटमा पराजित गरेर सेमिफाइनल पुगेको हो।

एफआईभीबी वरियतामा सबैभन्दा माथिको वरियतामा रहेको कजाखस्तानलाई इरानले हराएपछि नेपाली टिम पनि सजग छ। घरेलु कोर्ट र समर्थकको साथमा इरानलाई हराउने नेपालको लक्ष्य छ।

समूह चरणको अन्तिम खेलमा कजाखस्तानलाई सोझो सेटमा हराएर सेमिफाइनल पुगेपछि इरानी टोलीको आत्मविश्वास बढेको छ।

नेपाल र इरानबीच महिला भलिबलमा प्रतिस्पर्धा हुन लागेको यो पहिलो पटक भने होइन। यसअघि पनि दुई पटक आमने–सामने भइसकेका इरान र नेपाल काठमाडौंमै तेस्रो पटक भिड्न लागेका हुन्।

यसअघि सन् २०२४ मै काठमाडौंमा भएको काभा महिला च्यालेन्ज लिगमा दुई पटक भिडेका थिए जहाँ दुवैले एक–एक खेल जितेका थिए।

सेमिफाइनलको पहिलो खेल आजै दिउँसो २ बजे भारत र कजाखस्तानबीच खेल हुनेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *